ताजा समाचार

सांसद बुढाले गराए यार्सागुम्बा संकट, संरक्षण र संकलकको सुरक्षामा सरकारको ध्यानाकर्षण

विष्णुप्रसाद देवकोटा
डोल्पासहित देशका १२ हिमाली जिल्लाका उच्च हिमाली पाटनमा पाइने बहुमूल्य जडीबुटी यार्सागुम्बा संकटमा पर्दै गएको भन्दै प्रतिनिधिसभा सदस्य धनबहादुर बुढाले यसको संरक्षण, संवर्द्धन तथा व्यवस्थित व्यवस्थापनका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
सांसद बुढाले यार्सागुम्बा उत्पादनमा निरन्तर गिरावट देखिनु चिन्ताको विषय भएको उल्लेख गर्दै यसको दीगो संरक्षणका लागि वैज्ञानिक अध्ययन, अनुसन्धान र प्रभावकारी संरक्षण कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताएका हुन। उनले साेमबार प्रतिनिधि सभा बैठकमा दुई मिनेटकाे समयमा बाेल्दै यार्सागुम्बा संकलनका क्रममा उच्च हिमाली क्षेत्रमा जोखिमपूर्ण अवस्थामा काम गर्ने संकलकहरूको सुरक्षा, स्वास्थ्य उपचार तथा बीमाको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
यस्तै, यार्सागुम्बा उत्पादन घट्दै जाँदा यसमा निर्भर हजारौं परिवारको आयआर्जनमा प्रत्यक्ष असर परेको उल्लेख गर्दै प्रभावित परिवारहरूका लागि राहत, वैकल्पिक जीविकोपार्जन तथा आयमुखी कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
हिमाली क्षेत्रको अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको यार्सागुम्बाको संरक्षणलाई राष्ट्रिय प्राथमिकतामा राख्दै संकलकको हित, जैविक विविधताको संरक्षण र स्थानीय समुदायको जीविकोपार्जन सुनिश्चित गर्न ठोस नीति तथा कार्यक्रम ल्याउन सांसद बुढाले सरकारसँग आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया