विष्णुप्रसाद देवकोटा
डोल्पा ।हिमाल, ताल, जडीबुटी र अनुपम प्राकृतिक सम्पदाले सम्पन्न जिल्ला हो डाेल्पा। तर यही भूगोलभित्र गरिबी, अशिक्षा, कुपोषण, बालविवाह, लैङ्गिक विभेद र सीमित अवसरजस्ता सामाजिक चुनौती पनि दशकौँदेखि गाँसिएर बसेका छन्। यहाँका धेरै बस्ती अझै सडक गुणस्तरीय र सदाबहार नहुनु,स्वास्थ्य सेवा, गुणस्तरीय शिक्षा र सञ्चारको सहज पहुँचबाट टाढा छन्। भौगोलिक विकटतासँगै परम्परागत सोच, अन्धविश्वास, सामाजिक दबाब र अवसरको अभावले विशेषगरी बालबालिका र किशोरीहरूको भविष्य लामो समयसम्म सीमित बनाइरह्यो।
यही परिवेशमा कुनै समय छोरीको उमेरभन्दा विवाहको चिन्ता ठूलो मानिन्थ्यो। “समयमै विवाह गरिदिए अभिभावकको जिम्मेवारी पूरा हुन्छ” भन्ने सोच समाजमा गहिरोसँग बसेको थियो। बालविवाहका कानुनी, सामाजिक, आर्थिक र स्वास्थ्यसम्बन्धी असरबारे चेतनाको अभावले यो अभ्यासलाई थप संस्थागत बनाइरह्यो।
तर आज डोल्पाको समाजमा नयाँ बहस सुरु भएको छ। विवाहभन्दा अघि शिक्षा, सीप, आत्मनिर्भरता र सुरक्षित भविष्यको कुरा हुन थालेको छ। यो परिवर्तन संयोग होइन। यसको पछाडि वर्षौँदेखि गाउँ–गाउँ पुगेर चेतनाको उज्यालो फैलाइरहेका केही समर्पित व्यक्तिहरू छन्। तीमध्ये अग्रपङ्क्तिमा उभिने नाम हो—रणबहादुर कार्की।
स्थायी शिक्षकदेखि सामाजिक अभियन्ता सम्मको साहसी तर चुनाैतीपुर्ण मोड
रणबहादुर कार्कीको सामाजिक यात्रा कुनै परियोजनाको अवधि वा संस्थागत जिम्मेवारीमा सीमित छैन। यो आफ्नो जन्मथलो र समाजप्रतिको गहिरो उत्तरदायित्वबाट सुरु भएको अभियान हो।
२०५५ सालमा शिक्षण पेशाबाट आफ्नो सार्वजनिक जीवन सुरु गरेका कार्कीले गाउँका बालबालिकाको वास्तविकता नजिकबाट देखे भेटे सुने र बुझे। कुपोषण, गरिबी, विद्यालय छाड्ने बाध्यता, बालश्रम, बालविवाह र अवसरको अभावले उनीभित्र गहिरो प्रश्न जन्मायो—के कक्षाकोठामा पढाएर मात्र समाज बदल्न सकिन्छ?
२०६५ सालमा देश संघीय लोकतान्त्रिक गणतन्त्रको यात्रामा अघि बढिरहेका बेला उनले जीवनकै सबैभन्दा कठिन निर्णय लिए। स्थायी सरकारी शिक्षकको सुरक्षित जागिर त्यागेर सामाजिक परिवर्तनको बाटो रोजे। परिवारले चिन्ता गर्यो, साथीहरूले आश्चर्य माने। तर उनले रोजेको बाटो परिवर्तनको द्योतक थियो, सामाजिक समस्यालाई नजिकबाट नियाल्ने र समाधानको साधन बन्ने समर्पण थियाे नकि सुविधाको भाेगविलास ।
त्यसयता स्थानीय शासन, सुशासन, सामाजिक सुरक्षा, गरिबी निवारण, योजना निर्माण, क्षमता विकास, मानवअधिकार, सामाजिक समावेशीकरण, स्वास्थ्य, खानेपानी, सरसफाइ, पोषण, आयआर्जन, कानुनी सचेतना र स्थानीय विकासका क्षेत्रमा करिब दुई दशकभन्दा बढी समय निरन्तर काम गरेका छन् र समाजबाट सिक्दै र सिकाउने चक्रमा पैताला खियाइरहेका छन ।
जिल्ला विकास समिति डोल्पामा स्थानीय शासन विज्ञ, सामाजिक सुरक्षा अधिकृत, कार्यकारी सचिव तथा अनुगमन अधिकृतका रूपमा जिम्मेवारी सम्हालेका उनले RTI International, UNDP नेपाल, CARE नेपाललगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामा समेत विभिन्न जिम्मेवारी निर्वाह गरे।
तर पछिल्ला करिब दुई वर्षयता उनी कुनै संस्थाको कर्मचारी होइनन्। उनी विशुद्ध सामाजिक अभियन्ताका रूपमा गाउँ–गाउँ पुगेर बालअधिकार, लैङ्गिक समानता, ग्रामीण विकास र सामाजिक रूपान्तरणको अभियानमा निरन्तर सक्रिय छन्।
उनी भन्छन्—”बालविवाह रोक्नु भनेको एउटा विवाह रोक्नु मात्र होइन, एउटा पुस्ताको भविष्य सुरक्षित गर्नु हो।”
काठमाडौँले सिकाएको जीवन, गाउँले दिएको उद्देश्य
डोल्पाको जुफालस्थित आदर्श माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेपछि उनी उच्च शिक्षाका लागि काठमाडौँ पुगे। त्यसबेला डोल्पाबाट राजधानी पुग्नु नै धेरैका लागि सपना थियो।
आर्थिक अभाव, सञ्चारको कठिनाइ र पारिवारिक दूरीबीच उनले अध्ययन पूरा गरे। महेन्द्ररत्न क्याम्पसबाट शिक्षाशास्त्रमा स्नातक, त्रिचन्द्र क्याम्पसबाट समाजशास्त्रमा स्नातकोत्तर तथा पछि नेपाल खुला विश्वविद्यालयबाट कानुनमा स्नातक पूरा गरी नेपाल कानुनी व्यवसायी परिषद्को परीक्षा उत्तीर्ण गर्दै अधिवक्तासमेत बने।
तर उनको जीवनमा सबैभन्दा ठूलो पाठ पुस्तकले होइन, संघर्षले सिकायो।
आर्थिक अभावका कारण कहिलेकाहीँ दुई छाक खान नपाएको दिन, घरबाट आएको खर्च निकाल्न नसक्दा पाउरोटीमै गुजारा गर्नुपरेको अवस्था, बिरामी हुँदा अस्पतालको उपचारमा भएको लापरबाही र मृत्युको मुखबाट फर्किएको अनुभवले उनलाई एउटा निष्कर्षमा पुर्यायो—अशिक्षा भनेको केवल अक्षर नचिन्नु होइन, आफ्ना अधिकार नचिन्नु पनि हो।त्यही अनुभवले उनलाई गाउँ फर्काएर समाज परिवर्तनको यात्रामा डोर्यायो।
बालविवाहविरुद्धको अभियान : कानुनभन्दा चेतनाको लडाइँ
डोल्पामा एउटा गाउँ पुग्न कहिलेकाहीँ दिनौँ लाग्छ। तर कार्कीका लागि भूगोलभन्दा कठिन यात्रा मानिसको सोच परिवर्तन गर्नु थियो।
बालविवाह रोक्न कानुन सुनाउनु सजिलो हुन्छ। तर परिवारको मन परिवर्तन गर्नु सजिलो हुँदैन। एउटा विवाहसँग परम्परा, धार्मिक विश्वास, सामाजिक प्रतिष्ठा र समुदायको दबाब जोडिएको हुन्छ।यही कारण उनले भाषणभन्दा संवाद रोजे।
उनी घर–घर पुगे। विद्यालयका कक्षामा विद्यार्थीसँग बसे। अभिभावकसँग छलफल गरे। बाल क्लब, किशोरी समूह, महिला समूह, शिक्षक, जनप्रतिनिधि र स्थानीय सरकारसँग निरन्तर संवाद चलाए।उनको अभियानको मूल प्रश्न सधैँ एउटै रह्यो—
“हामीले आफ्ना छोराछोरीलाई परम्परा मात्र हस्तान्तरण गर्ने कि भविष्य पनि दिने?”
अभियान अब समुदायको अभियान
बालविवाह विरुद्ध साझा अभियान सन्जाल कर्णाली प्रदेशमा आबद्ध रहि पछिल्लो समय ठुलिभेरि त्रिपुरासुन्दरी नगरपालिका र जगदुल्ला गाउँपालिकामा बालविवाह राेकथामकाे आवाज र अभ्यासहरुलाई अनवरत रुपमा सघन तरिकाले अगाडि बढाइरहेका छन अझ विशेष गरि आजकल त्रिपुरासुन्दरीमा बालविवाह तथा लैङ्गिक हिंसा रोकथामसम्बन्धी आवधिक रणनीतिक योजना निर्माणका लागि एकसाथ सचेतना र समुदायकाे सुझावहरु संकलन गरिरहेका कार्की त्यस प्रक्रियालाई समुदायसम्म पुर्याउने अभियानको प्राविधिक रुपमा नगरपालिकाकाे समन्वय सहकार्य र सहभागीतामा नेतृत्व गरिरहेका छन्।
नगरपालिकाका विभिन्न भौगोलिक क्षेत्र समेटेर पाँच क्लस्टरस्तरीय गोष्ठी सञ्चालन गरिएका छन्। ती कार्यक्रममा जनप्रतिनिधि, शिक्षक, अभिभावक, किशोर–किशोरी, महिला समूह, बाल क्लब, युवा तथा स्थानीय अगुवाहरूलाई एउटै मञ्चमा ल्याएर खुला संवाद चलाइरहेका छन ।
उनको विश्वास स्पष्ट छ—परिवर्तन कार्यालयको निर्णयबाट होइन, समुदायको सहभागिताबाट सम्भव हुन्छ।
कर्णालीका समस्या किन एकअर्कासँग गाँसिएका छन्?
कार्कीको बुझाइमा बालविवाह एउटा छुट्टै समस्या होइन। यो गरिबी, अशिक्षा, कुपोषण, बेरोजगारी र सीमित अवसरसँग गाँसिएको सामाजिक चक्र हो।
बालबालिका विद्यालयबाट बाहिरिएपछि अवसर घट्छ। अवसर घटेपछि आत्मनिर्भरता कमजोर हुन्छ। त्यसपछि बालविवाह, गरिबी र पछौटेपनको चक्र अर्को पुस्तामा दोहोरिन्छ।
त्यसैले उनी बालविवाहविरुद्धको अभियानलाई केवल विवाह रोक्ने अभियानका रूपमा होइन, शिक्षा, नेतृत्व, आत्मविश्वास, आर्थिक सशक्तीकरण र सामाजिक न्यायसँग जोडेर अघि बढाइरहेका छन्।
उनका अनुसार समाज परिवर्तनका लागि कानुन आवश्यक छ, तर चेतना अझ आवश्यक छ।
कार्यक्रम होइन, व्यवहार परिवर्तन सफलता
कार्कीका लागि सफलताको मापन गोष्ठीको संख्या होइन।सफलता त्यतिबेला देखिन्छ—जब एउटी किशोरी भन्छे, “म अहिले पढ्न चाहन्छु।”
जब अभिभावक भन्छन्, “पहिले छोरीको पढाइ पूरा गरौँ।”
जब शिक्षकले बालविवाहलाई निजी होइन, सामाजिक समस्याका रूपमा लिन थाल्छन्।
जब बाल क्लबले जोखिममा रहेका बालबालिकाको पक्षमा आवाज उठाउँछ।
र जब समुदायले बालविवाह रोक्नुलाई कसैको विरोध होइन, आफ्नै सन्तानको भविष्य सुरक्षित गर्ने साझा जिम्मेवारीका रूपमा स्वीकार गर्न थाल्छ।
सन्तुष्टि पदमा होइन, समुदायको समृद्धि र विश्वासमा
आज कार्की कुनै संस्थाको जागिरे होइनन्। तर उनीसँग समुदायको विश्वास छ र समुदायलाई नजिकबाट चिनेका छन छाेएका छन र छामेका छन ।
स्थायी सरकारी जागिर छोडेकोमा उनलाई कुनै पछुतो छैन। बरु आफ्नो समाजका लागि केही गर्न पाएकोमा सन्तुष्टि छ।
उनी भन्छन्, “समुदायले दिएको विश्वास नै मेरो सबैभन्दा ठूलो पुरस्कार हो।”
परिवर्तनको बीउ रोपिइसकेको छ
रणबहादुर कार्की एक्लैले डोल्पाबाट बालविवाह अन्त्य गर्न सक्दैनन्। कुनै एउटा संस्था वा स्थानीय सरकारले मात्र पनि यो सम्भव छैन।
तर परिवर्तन सधैँ भीडबाट सुरु हुँदैन।एउटा प्रश्नबाट सुरु हुन्छ।
एउटा घरको ढोका ढकढक्याउने साहसबाट सुरु हुन्छ।
एउटी किशोरीले “म पढ्न चाहन्छु” भन्ने आत्मविश्वासबाट सुरु हुन्छ।
एउटा अभिभावकले “पहिले भविष्य, त्यसपछि विवाह” भन्ने निर्णयबाट सुरु हुन्छ।
हिमालको भूगोल बदलिन समय लाग्छ। समाजको सोच बदलिन अझ धेरै समय लाग्न सक्छ। तर संवाद निरन्तर रहिरहे, शिक्षा फैलिरहे, बालबालिकाको आवाज सुनिँदै गयो र समुदाय स्वयं परिवर्तनको साझेदार बनिरह्यो भने बालविवाहमुक्त डोल्पाको सपना टाढा छैन।
आज डोल्पामा परिवर्तनको बीउ रोपिइसकेको छ। जहाँ कुनै समय उमेर नपुग्दै विवाहको हतार हुन्थ्यो, त्यही समाजमा अहिले शिक्षा, समानता, अधिकार र भविष्यको बहस हुन थालेको छ। यही बहस नै भोलिको समुन्नत, सचेत र बालविवाहमुक्त डोल्पाको सबैभन्दा बलियो आधार बन्ने अपेक्षा गरिएको छ।

डोल्पा न्यूज । १६ श्रावण २०८३, शनिबार २१:३६