कागकोट (डोल्पा), असार १० – हिमाली जिल्ला डोल्पाको डोल्पोबुद्ध गाउँपालिका ले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३३ करोड २० लाख रुपैयाँ बराबरको बजेट पारित गरेको छ। गाउँपालिकाको १९औँ गाउँसभा अधिवेशनमा उपाध्यक्ष पेम्मा धोर्चे गुरुङ ले प्रस्तुत गरेको बजेट गाउँ कार्यपालिकाबाट स्वीकृत भएको हो।
पारित बजेटमध्ये चालु तर्फ १६ करोड ९७ लाख ६६ हजार रुपैयाँ र पुँजीगत तर्फ १६ करोड २२ लाख ८६ हजार रुपैयाँ विनियोजन गरिएको छ। बजेटले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, रोजगार सिर्जना तथा पर्यटन प्रवर्द्धनलाई प्रमुख प्राथमिकतामा राखेको गाउँपालिकाले जनाएको छ।
उपाध्यक्ष गुरुङका अनुसार स्थानीय नागरिकको जीवनस्तर उकास्न रोजगारमुखी कार्यक्रम सञ्चालन गरिनेछ भने गाउँपालिकाभित्र रहेका प्राकृतिक, धार्मिक तथा सांस्कृतिक पर्यटकीय गन्तव्यहरूको पहिचान, संरक्षण र प्रचारप्रसारमार्फत पर्यटन क्षेत्रको विकासमा विशेष जोड दिइएको छ।
प्रमुख प्रशासकीय अधिकृत मनबहादुर थापा ले आगामी वर्षका योजना तथा कार्यक्रम गुणस्तरीय र दिगो भौतिक पूर्वाधार निर्माण, आधारभूत तथा गुणस्तरीय स्वास्थ्य सेवाको सुदृढीकरण, सामाजिक सुरक्षा तथा रोजगारी विस्तार, कृषि, पशुपालन, उद्यमशीलता र पर्यटनमार्फत आर्थिक विकास तथा गरिबी न्यूनीकरण, वातावरण संरक्षण, जलवायु परिवर्तन अनुकूलन, विपद् व्यवस्थापन र प्रविधिमैत्री सुशासनमा केन्द्रित रहेको जानकारी दिए।
उनले चीनको मरिम्ला नाकासँग जोडिएको उच्च हिमाली पालिका भएकाले विकास निर्माणका काम कार्यान्वयनमा भौगोलिक र मौसमी चुनौतीहरू रहे पनि स्थानीय सरकार, जनप्रतिनिधि र समुदायको सहकार्यबाट विकासका लक्ष्य हासिल गर्न सकिने विश्वास व्यक्त गरे।
डोल्पोबुद्ध गाउँपालिका हाल मुस्ताङसँग सडक सञ्जालमार्फत जोडिएको भए पनि जिल्ला सदरमुकाम दुनैसँग भने अझै प्रत्यक्ष सडक पहुँच स्थापित हुन सकेको छैन।
दुनै–माथिल्लो डोल्पा सडकखण्डअन्तर्गत करिब ४२ किलोमिटर क्षेत्रमा निर्माण कार्य सुरु हुन नसकेको र झण्डै २५ किलोमिटर क्षेत्रमा काम भइरहे पनि पूर्णता पाउन बाँकी रहेको अवस्था छ। यही कारण सदरमुकामबाट माथिल्लो डोल्पाका तीनवटै स्थानीय तह अझै सडक सञ्जालसँग प्रत्यक्ष रूपमा जोडिन सकेका छैनन्।
स्थानीयवासीले सडक पहुँच विस्तारलाई विकासको प्रमुख आधारका रूपमा लिँदै बजेट कार्यान्वयनसँगै पूर्वाधार निर्माणमा उल्लेखनीय प्रगति हुने अपेक्षा गरेका छन्।

डोल्पा न्यूज । १० असार २०८३, बुधबार २१:२६