विष्णुप्रसाद देवकोटा
डोल्पा । डोल्पाको जुफाल विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पछाडिको दाहिनेपट्टिको टायर फुत्किएर बाहिर निस्किएको छ।
नेपालगञ्जबाट डोल्पाको जुफालका लागि उडेको सीता एयरको जहाज बुधबार बिहान ८ः२५ बजे जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा पछाडिको दाहिनेपट्टिको टायर फुत्किएको सिताएयरका जुफाल स्टेसन म्यानेजर मुकुन्द पाैडेलले जानकारी दिए ।
जहाजमा ७ जना विदेशी र ६ जना नेपाली गरी १३ जना यात्रु सवार थिए। तीमध्ये ११ जना पुरुष र २ जना महिला रहेको प्रहरीले जनाएको छ।
टायर फुत्किए पनि जहाजमा सवार सबै यात्रु सकुशल रहेको र मानवीय क्षति नभएको बताइएको छ। जहाज भने धावनमार्गमै रहेको छ।
प्रहरी सहायक निरीक्षक भेषराज केसीको कमाण्डमा सात जनाको प्रहरी टोली घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ।
जहाजको टायर अवतरणका क्रममा कसरी फुत्कियो भन्नेबारे थप विवरण आउन बाँकी छ।
डाेल्पाकाे जुफाल विमानस्थलमा सीता एयरको जहाजको टायर फुत्कियो, १३ यात्रु सकुशल
तपाईको प्रतिक्रिया

डोल्पा न्यूज । ८ आश्विन २०८३, बिहीबार ०९:५३