ताजा समाचार
फागुन २१ निर्वाचन लक्षित रणनीति

एमाले डोल्पाको फुल–फिल्ड रणनीति :सदरमुकामदेखि गाउँसम्म कमिटी जालो

विष्णुप्रसाद देवकोटा
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले) डोल्पाले संगठनात्मक पुनर्संरचना र व्यापक परिचालन रणनीति अघि सारेको छ । पार्टीको ९औँ जिल्ला कमिटीको पूर्ण बैठकले केन्द्रदेखि गाउँस्तरसम्म निर्वाचन केन्द्रीत कमिटीहरू गठन गर्दै चुनावी मैदानमा आक्रामक उपस्थितिको संकेत दिएको छ ।
केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज बदमीक्वारी बोहोराको संयोजकत्वमा निर्वाचन प्रचारप्रशार मूल कमिटी गठन गरिएको छ । वरिष्ठ नेता तुलाचन्द्र बुढा र प्रदेश निर्वाचन क्षेत्र (ख) का ईन्चार्ज विश्वचन्द्र डसाल सह–संयोजक रहने गरी तीन सदस्यीय मूल कमिटीमार्फत पार्टीले सम्पूर्ण पालिका र वडामा संगठन विस्तारलाई तीव्र बनाएको छ ।
निर्वाचन व्यवस्थापनलाई प्रभावकारी बनाउन ठुलीभेरी नगरपालिकामा पूर्णबहादुर डाँगीको संयोजकत्वमा आर्थिक व्यवस्थापन कमिटी गठन गरिएको छ भने युवालाई चुनावी अभियानमा केन्द्रमा राख्दै युवासंघ डोल्पा ईन्चार्ज पाण्डप महताराको नेतृत्वमा युवा परिचालन कमिटी सक्रिय बनाइएको छ । जनसांस्कृतिक क्षेत्रलाई समेत चुनावी अभियानमा जोड्न अलग कमिटी गठन गरिएको छ ।
एमाले डोल्पाले ठुलीभेरी, त्रिपुरासुन्दरी, मुड्केचुला, जगदुल्ला, काईके, शे–फोक्सुण्डो, डोल्पोबुद्ध र छार्काताङसोङ गाउँपालिकामा पालिका–स्तरीय निर्वाचन प्रचारप्रशार उप–कमिटी गठन गर्दै स्थानीय तहसम्म चुनावी संरचना मजबुत बनाएको छ । यी कमिटीमा वडा कमिटी अध्यक्ष, जिल्ला कमिटी सदस्य तथा भातृ संगठनका प्रमुखहरू समेटिएका छन् ।
पार्टी सचिव जनक केसीका अनुसार उम्मेदवारलाई निर्वाचनमा सहज वातावरण तयार पार्न अनुभवी नेताहरूलाई समेटेर सल्लाहकार कमिटी पनि गठन गरिएको छ । साथै माघ २३ गतेदेखि काईके गाउँपालिकाबाट घरदैलो अभियान सुरु गर्ने निर्णय गरिएको छ ।
“गठित कमिटीहरूको कार्यसम्पादन अनुगमन पार्टी सचिवको संयोजकत्वमा हुनेछ, आवश्यकताअनुसार थप जिम्मेवारी र सदस्य समावेश गर्दै जाने निर्णय भएको छ,” सचिव केसीले बताए ।
उनका अनुसार निर्वाचनलाई लक्षित गर्दै जुनसुकै बेला, जुनसुकै तहमा नेता–कार्यकर्तालाई परिचालन गर्ने पूर्ण अधिकारसहित ९औँ पूर्ण बैठक सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया