ताजा समाचार
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन समन्वय बैठक

डोल्पामा सिमी–स्याउलाई ‘सुपर जोन’ बनाउने तयारी

विष्णुप्रसाद देवकोटा

डोल्पा ।

डोल्पामा सञ्चालन भइरहेका सिमी र स्याउ जोन कार्यक्रमलाई स्तरोन्नति गर्दै ‘सुपर जोन’मा रूपान्तरण गर्ने तयारी गरिएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन   एकाइ डोल्पाले  उक्त तयारी गरेकाे हाे । विहिवार डाेल्पामा बसेकाे नीति तथा कार्यक्रम कार्यान्वयन  समन्वय बैठकले कृषि उत्पादन बढाउनुका साथै बजारीकरण, भण्डारण र गुणस्तरीय बिरुवा उत्पादनलाई प्राथमिकता दिने निर्णय गरेको हो।

जिल्ला समन्वय समिति डोल्पाका प्रमुख श्यामबहादुर रोकायाको अध्यक्षतामा बसेको बैठकमा सिमी जोन र स्याउ जोनको हालसम्मको अवस्था तथा उपलब्धिबारे समीक्षा गरिएको थियो। कार्यक्रमका अध्यक्ष तथा प्रमुख अतिथि जिल्ला समन्वय प्रमुख श्यामबहादुर राेकायाले सिमी र स्याउ जोन कार्यक्रमलाई स्तरोन्नति गर्दै ‘सुपर जोन’मा रूपान्तरण गर्ने निर्णय गरिएकाेले यसले डाेल्पाकाे विकासका साथै डाेल्पाली कृषकहरुकाे लागि सकारात्मक भुमिका खेल्ने बताए ।

बैठकले स्याउ र सिमी जोनको क्षेत्र विस्तार गर्दै ‘सुपर जोन’मा लैजाने पहल गर्ने तथा बाख्रा, च्याङ्ग्रा र रैथाने बालीका लागि नयाँ जोन कार्यक्रम माग गर्ने निर्णय गरेको कार्यक्रम कार्यान्वयन एकाइका कार्यालय प्रमुख गोविन्दबहादुर मल्लले जानकारी दिए।

छलफलका क्रममा सिमीलाई रैथाने बाली कार्यक्रमसँग जोडेर चिनो, कोदो र मकैजस्ता बालीसँग समन्वय गर्दै उत्पादन विस्तार गर्नुपर्ने सुझाव दिइएको थियो । त्यस्तै कृषि नर्सरीलाई स्तरोन्नति गरी गुणस्तरीय बिरुवा उत्पादनमा जोड दिनुपर्ने, नयाँ प्रविधिमा आधारित उपकरण प्रयोग बढाउनुपर्ने तथा दीर्घकालीन भण्डारण व्यवस्थाको विकास गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।

स्याउ उत्पादन वृद्धि गर्न व्यवस्थित नर्सरीको अभाव रहेको लगायत उत्पादनसँगै बजार व्यवस्थापनमा ध्यान दिन सके कृषकको आम्दानी बढ्ने विश्वास व्यक्त गरिएको छ।

आर्थिक वर्ष २०७६/०७७ देखि सुरु भएको कार्यक्रमअन्तर्गत हालसम्म डोल्पामा करिब १८ करोड ८१ लाख रुपैयाँ बराबरका कृषि कार्यक्रम सञ्चालन भइसकेका छन्। हाल ठूलीभेरी, जगदुल्ला र त्रिपुरासुन्दरीका १९ वडामा स्याउ जोन तथा मुड्केचुला र काइकेका १६ वडामा सिमी जोन कार्यक्रम सञ्चालन भइरहेको कार्यालयले जनाएको छ।कार्यक्रममा विषयगत कार्यालयका प्रमुख तथा प्रतिनिधि र संचारकर्मीहरुकाे उल्लेख्य सहभागीता रहेकाे थियाे ।

तपाईको प्रतिक्रिया