ताजा समाचार

डोल्पामा रेडपाण्डा संरक्षणबारे सरोकारवालाको बैठक सम्पन्न

विष्णुप्रसाद देवकोटा
डोल्पा । हिमाली क्षेत्रमा पाइने दुर्लभ वन्यजन्तु रेड पाण्डा (हाब्रे) को संरक्षणलाई प्रभावकारी बनाउन डोल्पामा सरोकारवालाबीच समन्वयात्मक बैठक सम्पन्न भएको छ।
महिला दलित जाति उत्थान मञ्चको सहजीकरण तथा रेडपाण्डा नेटवर्क को आर्थिक सहयोगमा मुड्केचुला गाउँपालिकामा सञ्चालित समुदायमा आधारित हाब्रे संरक्षण परियोजना–२ अन्तर्गत उक्त बैठक आयोजना गरिएको हो।
मञ्चका अध्यक्ष चन्द्रबहादुर शाही को अध्यक्षतामा सम्पन्न बैठकमा जिल्लास्थित विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
बैठकमा डिभिजन वन कार्यालयका प्रमुख जीतेन्द्र महत, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पदम रावल, पशु अस्पताल तथा पशुसेवा कार्यालयका डा. साजन रोकाया तथा जिल्ला समन्वय समितिका प्रतिनिधि सुजन गौतम लगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा रेड पाण्डा संरक्षणका लागि समुदायको भूमिकालाई थप सशक्त बनाउने, वन क्षेत्रको दिगो व्यवस्थापन गर्ने तथा अवैध गतिविधि नियन्त्रणमा निकायबीच सहकार्य बढाउने विषयमा छलफल गरिएको थियो।
विश्वमै लोपउन्मुख प्रजातिमा पर्ने रेड पाण्डा डोल्पाको मुड्केचुला गाउँपालिका भित्रका विभिन्न सामुदायिक वन क्षेत्रमा सीमित संख्यामा पाइने बताइएको छ। यद्यपि, उक्त क्षेत्रमा कति संख्यामा रेड पाण्डा रहेका छन् भन्ने यकिन तथ्यांक भने हालसम्म संकलन हुन सकेको छैन।
मुड्केचुला गाउँपालिकाका वडा नं. १ देखि ७ सम्मका ६ वटा सामुदायिक वनमा रेड पाण्डाको उपस्थिति रहेको अध्ययनले देखाएको छ। ती सामुदायिक वन समितिहरू तथा २ वटा विद्यालयमार्फत संरक्षणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन हुँदै आएका छन्।
बैठकमा सहभागीहरूले रेड पाण्डा संरक्षणलाई स्थानीय जीविकोपार्जनसँग जोड्दै जनचेतना अभिवृद्धि गर्ने, निगरानी प्रणाली मजबुत बनाउने र समुदाय–सरकार–साझेदार संस्थाबीच प्रभावकारी समन्वय अपरिहार्य रहेकोमा जोड दिएका थिए।

तपाईको प्रतिक्रिया