ताजा समाचार

त्रिपुराकाेटमा निशुल्क आँखा शिविरबाट ४५ जनाको शल्यक्रिया

विष्णुप्रसाद देवकोटा
डोल्पा । त्रिपुरासुन्दरी नगरपालिकामा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरबाट ४५ जना बिरामीले विशेषज्ञ उपचार सेवा पाएका छन्।
नगरपालिकाका ११ वटै वडाका स्वास्थ्य संस्थामा सञ्चालन गरिएको आँखा परीक्षण तथा छनोट शिविरमा ६ सय ६७ जना बिरामीको आँखा स्क्यानिङ गरिएको थियो। स्क्यानिङबाट थप उपचार तथा शल्यक्रियाका लागि छनोट भएका बिरामीको त्रिपुराकोट स्वास्थ्य चौकी बगरमा विशेषज्ञ टोलीले उपचार गरेको हो।
स्वास्थ्य शाखा प्रमुख तुलबहादुर श्रेष्ठका अनुसार ४५ जनामध्ये ३२ जनाको मोतिबिन्दु, १२ जनाको आँखामा मासु पलाएको र एक जनाको परेला फर्किएको समस्याको शल्यक्रिया गरिएको छ।
शिविरमा नेत्र विशेषज्ञ मञ्जु पन्तको नेतृत्वमा आएको विशेषज्ञ टोलीले बिरामीको परीक्षण तथा आवश्यक शल्यक्रिया सेवा प्रदान गरेको थियो।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डोल्पा, उपशाखा त्रिपुराकोट, त्रिपुरासुन्दरी नगरपालिका, चारिटी हेल्थ फाउन्डेसन धनगढी र आँखा अस्पताल सुर्खेतको संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको थियो।
शिविरमा दृष्टि परीक्षण, आँखाको परीक्षण, औषधि तथा आवश्यकताअनुसार चस्मा वितरण गरिएको थियो। शल्यक्रिया गरिएका बिरामीलाई औषधि र सुरक्षात्मक कालो चस्मासमेत निःशुल्क उपलब्ध गराइएको छ। शल्यक्रियापछि एक हप्ता र एक महिनामा फलोअप सेवा उपलब्ध गराइने जनाइएको छ।
नेपाल रेडक्रस सोसाइटी उपशाखा त्रिपुराकोटका सभापति तुलबहादुर विष्टले विगतका वर्षमा पनि विभिन्न स्वास्थ्य शिविरमार्फत सेवा प्रदान गर्दै आएको र त्यसैको निरन्तरता तथा लक्षित वर्गको मागअनुसार यसपटक आँखा शिविर सञ्चालन गरिएको बताए।
नगरपालिकाका स्वास्थ्य संस्थामा गरिएको प्रारम्भिक परीक्षणबाट पहिचान भएका बिरामीलाई त्रिपुराकोटमा ल्याई विशेषज्ञ सेवा प्रदान गरिएको स्वास्थ्य शाखाले जनाएको छ।

तपाईको प्रतिक्रिया