ताजा समाचार

विद्यालयबाट हिँडेका बालक घर पुग्न सकेनन्, भेरी करिडोरमा मृत फेला

विष्णुप्रसाद देवकोटा
डोल्पा ।हिमाली जिल्ला डोल्पामा विद्यालयबाट घर फर्किरहेका एक बालक रहस्यमय अवस्थामा मृत फेला परेका छन्। त्रिपुरासुन्दरी नगरपालिका–५ का अन्दाजी ११ वर्षीय वीरेन्द्र रोकाया बिहीबार साँझ भेरी करिडोरअन्तर्गत हशु खोला सडकखण्डमा मृत अवस्थामा भेटिएका हुन्।
जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार वीरेन्द्र फोक्सुण्डो आधारभूत विद्यालयबाट पढाइ सकेर घरतर्फ फर्किरहेका थिए। उनी विद्यालयको पोशाक र झोलासहित सडक किनारमा मृत अवस्थामा फेला परेका हुन्। प्रहरीका अनुसार उनी सोही विद्यालयको कक्षा २ मा अध्ययनरत विद्यार्थी थिए।
घटनापछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक पदम रावलको नेतृत्वमा अनुसन्धान टोली घटनास्थलतर्फ खटिएको छ। जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक अनिलराज गिरीले घटनाको वास्तविक कारण घटनास्थलको मुचुल्का, प्राविधिक परीक्षण तथा अनुसन्धानपछि मात्रै खुल्ने भएकाले अहिले नै कुनै निष्कर्षमा पुग्न नसकिने बताए।
यता स्थानीयवासीले भने घटनास्थल नजिक सडक किनारमा रहेको विद्युत् पोलको तार ढुंगाले चुँडिएको र पोलमा विद्युत् प्रवाह भइरहेका कारण बालकले पोल छोएपछि करेन्ट लागेर मृत्यु भएको हुन सक्ने आशंका गरेका छन्। तर प्रहरीले यस विषयमा कुनै पुष्टि नगरेको र सबै सम्भावित पक्षबाट अनुसन्धान भइरहेको जनाएको छ।
घटनाले स्थानीय समुदायलाई स्तब्ध बनाएको छ भने बालबालिकाको आवतजावत हुने सडक क्षेत्रमा विद्युत् तथा अन्य पूर्वाधारको सुरक्षा व्यवस्थाप्रति गम्भीर प्रश्न समेत उठाएको छ।

तपाईको प्रतिक्रिया