ताजा समाचार

प्रेम ताल : जगदुल्लाको हिमाली काखमा प्रकृति र आस्थाको अनुपम संगम

प्रेम ताल : जगदुल्लाको हिमाली काखमा प्रकृति र आस्थाको अनुपम संगम
डोल्पा । कर्णाली प्रदेशको हिमाली सौन्दर्यभित्र लुकेको प्रेम ताल जगदुल्ला गाउँपालिकाको प्रमुख पर्यटकीय तथा धार्मिक गन्तव्यका रूपमा चिनिँदै गएको छ। समुद्र सतहदेखि करिब ४ हजार मिटरभन्दा बढी उचाइमा, जगदुल्ला पाटनको विशाल हिमाली भूगोलबीच अवस्थित यो ताल प्रकृति, शान्ति र आस्थाको अनुपम संगम हो।
आकारमा पानको पातजस्तै देखिने भएकाले स्थानीयस्तरमा यसलाई ‘प्रेम ताल’ नामले चिनिने गरेको बताइन्छ। नीलो, स्वच्छ पानीले भरिएको ताल र वरिपरि फैलिएको हिमाली भू–दृश्यले यहाँ पुग्ने जोकोहीलाई आकर्षित गर्छ।
प्राकृतिक सुन्दरतासँगै प्रेम ताल स्थानीय समुदायको धार्मिक आस्थासँग पनि जोडिएको स्थल हो। विभिन्न चाडपर्व तथा विशेष तिथिमा यहाँ पूजाआजा गर्ने परम्परा रहेको छ।
जगदुल्ला पाटन क्षेत्र यार्सागुम्बा, पाँचऔंलेलगायत बहुमूल्य हिमाली जडीबुटी तथा हिमाली वन्यजन्तुका लागि समेत परिचित छ। यही क्षेत्र हुँदै जाने पदमार्गले प्रेम ताललाई भविष्यमा महत्वपूर्ण पदयात्रा तथा हिमाली पर्यटन गन्तव्यका रूपमा विकास गर्ने सम्भावना बोकेको छ।
हिमालको काखमा नीलो आकाशको प्रतिविम्ब समेटेर शान्त बसेको प्रेम ताल—जगदुल्लाको प्राकृतिक सौन्दर्य र सम्भावनाको एउटा जीवन्त प्रतीक।
तस्बिर : रिता रोकाया / डोल्पा

तपाईको प्रतिक्रिया