ताजा समाचार

डाेल्पामा २४ घण्टापछि बेवारिसे शव उद्धार, बेपत्ता भएका मंगले कामीको पहिचान

विष्णुप्रसाद देवकोटा
डोल्पा । हिमाली जिल्ला डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ छेप्का क्षेत्रस्थित सुलीगाड खोलामा बेवारिसे अवस्थामा फेला परेको शव २४ घण्टापछि उद्धार गरिएको छ।
आइतबार बिहान करिब ११ बजे स्थानीयवासीले खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको संयुक्त टोली घटनास्थलमा परिचालन गरिएको थियो।
तर शव खोलाको गहिरो खोल्साभित्र अड्किएको, भौगोलिक अवस्था अत्यन्त जोखिमपूर्ण रहेको तथा खोलाको बहाव तीव्र भएकाले आइतबार दिनभरको प्रयासका बाबजुद शव निकाल्न सम्भव भएको थिएन।
जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक अनिलराज गिरीका अनुसार सोमबार बिहान प्रमुख जिल्ला अधिकारीसहित जिल्ला सुरक्षा समितिको उपस्थितिमा पुनः उद्धार अभियान सञ्चालन गरिएको थियो। उच्च जोखिमका बीच सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले शव सुरक्षित रूपमा बाहिर निकालेको उनले जानकारी दिए।
प्रहरी नायब उपरीक्षक गिरीले भने, “आइतबार दिनभर प्रयास गर्दा पनि शव निकाल्न सफल हुन सकेनौं। शव खोलाको गहिरो खोल्साभित्र अड्किएको र खोलाको बहाव तीव्र भएकाले उद्धार निकै चुनौतीपूर्ण थियो। सोमबार उच्च जोखिम मोलेर शव सुरक्षित रूपमा बाहिर निकालिएको हो।”
प्रहरीका अनुसार उद्धार गरिएको शव सुर्खेतको बराहताल गाउँपालिका–६ स्थायी घर भई हाल शे–फोक्सुण्डो गाउँपालिका–८ रिग्मोमा कामका सिलसिलामा बस्दै आएका ३८ वर्षीय विष्णु विक (मंगले कामी) को रहेको पुष्टि भएको छ।
उनी गत असार ६ गतेदेखि रिग्मो गाउँबाट बेपत्ता भएका थिए। सोमबार उद्धार गरिएको शव उनकी पत्नीले सनाखत गरेपछि मृतकको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।
घटनाको कारणबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

तपाईको प्रतिक्रिया