ताजा समाचार

डोल्पामा विपद् व्यवस्थापन योजना पारित, भूकम्पपीडितलाई राहत दिन पहल

विष्णुप्रसाद देवकोटा
डोल्पा । डोल्पा जिल्लाको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन जिल्ला विपद् व्यवस्थापन समितिले विभिन्न निर्णय गरेको छ। जिल्लाको विपद् व्यवस्थापनका लागि विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना (DPRP) पारित गर्ने निर्णय गरेको हो।
समितिको निर्णयअनुसार जिल्लामा गठन भएको जिल्ला विपद् कमाण्ड पोस्टमा नयाँ सुरक्षा अधिकारीलाई सदस्यका रूपमा समावेश गरिने भएको छ। जिल्लामा सरुवा भई आएका संग्रामसादुल गुल्मका गुल्मपति सेनानी नरेश विष्ट तथा सशस्त्र प्रहरी बल नेपाल नं. ४६ गुल्म हेडक्वार्टरका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक प्रमोद रायलाई कमाण्ड पोस्टको सदस्यमा समावेश गरी सदस्यता संशोधन गर्ने निर्णय गरिएको छ।
त्यसैगरी, २०८३ वैशाख १२ गते राति ४ः०२ बजे आएको भूकम्पबाट भएको क्षतिका सम्बन्धमा कार्यालयमा प्राप्त निवेदनमाथि छलफल गर्दै क्षतिग्रस्त संरचनाका लागि राहत उपलब्ध गराउने विषयमा आवश्यक प्रक्रिया अघि बढाउने निर्णय समेत गरेकाे छ। वर्षाका कारण क्षति भएका संरचनासम्बन्धी प्राप्त निवेदनमाथि समेत राहत उपलब्ध गराउने विषयमा छलफल भएको प्रमुख जिल्ला अधिकारी जुनु हमाल( ढकाल)ले जानकारी दिइन ।
बैठकले भेरी करिडोर सडक योजनाअन्तर्गतका सडकमा विपद्का कारण हुने आवतजावतसम्बन्धी समस्याका विषयमा प्राप्त गुनासा तथा सुझावलाई योजनाका योजना प्रमुखसमक्ष राखी आवश्यक छलफल गर्ने निर्णय गरेको छ।
विपद्को जोखिम न्यूनीकरणका लागि विपद्पूर्व तयारीलाई प्रभावकारी बनाउन तीनै तहका सरकारी निकायबीच आवश्यक समन्वय तथा सञ्चारलाई थप प्रभावकारी बनाउने निर्णयसमेत गरिएको छ।
त्यस्तै, संग्राम शार्दूल गुल्मका गुल्मपति श्री संग्राम शार्दूल गुल्मले स्थानीय प्रशासन तथा सम्बन्धित निकायसँग समन्वय गरी मासिक रूपमा एकदिने सामुदायिक विपद् प्रतिकार्य तालिम सञ्चालन गर्ने प्रस्ताव गरेकामा उक्त तालिम सञ्चालनका लागि आवश्यक समन्वय तथा सहयोग गर्ने निर्णय गरिएको छ।
समितिका यी निर्णयले डोल्पामा विपद् आउनुअघि गरिने पूर्वतयारी, विपद्का समयमा हुने प्रतिकार्य तथा विपद्पछि पीडितलाई राहत उपलब्ध गराउने व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया