ताजा समाचार

डाेल्पा त्रिपुराकाेटमा छाडाहुदै  गएको समाजलाई मूलधारमा फर्काउन मुखिया चयन

विष्णु देवकोटा

त्रिपुराकाेट गाउँभेलाले समाजसेवी जुझारु युवा टिकादत्त न्याैपानेलाई गाउँकाे तालुकदार( मुखिया) चयन गरेकाे छ ।त्रिपुरासुन्दरी नगरपालिका–१ अन्तर्गत त्रिपुराकोट गाउँमा २०८२ माघ २४ गते सम्पन्न गाउँ भेलाले लामो समयदेखि उपेक्षित बन्दै आएको मुखिया प्रणालीलाई पुनःस्थापना गर्दै समाजसेवी तथा जुझारु युवा न्यौपानेलाई गाउँको तालुकदार (मुखिया) चयन गरेको हो।

परम्परागत सामाजिक नेतृत्व संरचना कमजोर बन्दै जाँदा विकृति, विसंगति र छाडापन मौलाउँदै गएको त्रिपुराकोट गाउँमा अब अनुशासन, मर्यादा र सामूहिक उत्तरदायित्वको पुनर्स्थापना हुने संकेत देखिएको छ।

सार्की टोल, कठायत टोल, ब्राह्मण टोल र विष्ट टोलका प्रतिनिधिहरूको उल्लेखनीय सहभागितामा सम्पन्न भेला गाउँबस्तीका नायक टंकप्रसाद उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको थियो।

मुखिया प्रणाली बीचमै छोडिँदा गाउँमा अनुशासनहीनता, सामाजिक बिखण्डन, आपसी अविश्वास र छाडा प्रवृत्तिले जरा गाडेको भेलाले स्पष्ट रूपमा स्वीकार गरेको छ ।

भेलाको निष्कर्षमा भनिएको छ, “समाजलाई नियम होइन, नेतृत्व चाहिन्छ।”यही मान्यताका साथ मुखियाको पुनरागमनलाई छाडा बन्दै गएको समाजदेखि दिशाहीन बनेको सामाजिक संरचनालाई पुनः मूल प्रवाहमा ल्याउने निर्णायक कदमका रूपमा हेरिएको स्थानीय नारायणप्रसाद उपाध्यायले बताए।

भेलाले गाउँमा हुने हरेक शुभ तथा अशुभ कार्यमा सबै टोल र समुदायको अनिवार्य समान सहभागिता सुनिश्चित गर्ने, विकास योजना र बजेट निमुखा गरिबदेखि पहुँचवाला सबैका लागि समान रूपमा परिचालन गर्ने तथा कुनै पनि समूह, वर्ग वा व्यक्तिको एकाधिकार अन्त्य गरिने गाउँभेलाबाट चयन भएका मुखिया न्याैपाने प्रतिबद्धता ब्यक्त गरे ।

उनले भने” गाउँका सबै जानमान भद्रभलादमी देखि राजनीतिकज्ञकाे सरसल्लाह लिएर जनमुखि र समाजकाे हितमा काम गर्ने छु ।”

कृषि र जीविकोपार्जनसँग जोडिएको परम्परागत व्यवस्थालाई सुदृढ बनाउन बालीनाली तथा ज्युलाको रेखदेखका लागि रिठे सार्कीलाई कटुवालको जिम्मेवारी दिइएको छ भने गाउँ साध–सदियार, सिमाना र नक्साङ्कनसम्बन्धी देखिदै आएकाे समस्या समाधानमा पहल गर्ने छ ।

स्थानीय अगुवाहरूका अनुसार मुखियाको पुनःस्थापनाले केवल पद होइन, गाउँलाई बाँध्ने अनुशासन, संस्कार र सामूहिक चेतनाको पुनर्जागरण गर्ने अपेक्षा गरिएको छ। त्रिपुराकोटको यो निर्णय छाडापन र विसंगतिबाट थलिएको समाजलाई पुनः मर्यादा, एकता र सहकार्यको बाटोमा फर्काउने ऐतिहासिक मोडका रूपमा हेरिएको छ।

तपाईको प्रतिक्रिया