विष्णुप्रसाद देवकोटा
डोल्पा — डोल्पाको ठुलिभेरी नगरपालिका–२ कुम्ली स्थित मनमा आधारभूत विद्यालयमा शुक्रबार राति आएको भीषण हावाहुरीले विद्यालय भवनको छाना उडाउँदा लाखौं रुपैयाँ बराबरको क्षति भएको छ।
राति करिब ९ बजेतिर आएको हुरीले विद्यालयको नयाँ दुई कोठे भवन र पुरानो एक कोठे भवनको छाना उडाएको विद्यालयले जनाएको छ। उडेको जस्ता पाता नजिकैको स्याउ बगैंचामा पुगेका छन् भने कृषकका स्याउका बिरुवा समेत नष्ट भएका छन्। विद्यालयमा जडान गरिएको सोलार प्रणालीमा पनि क्षति पुगेको बताइएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीका अनुसार घटनाबाट अनुमानित ३ लाख रुपैयाँभन्दा बढी क्षति भएको छ। उनले तत्काल मर्मतका लागि सहयोगको अपिल गर्दै कक्षा ५ सम्म अध्ययन हुने विद्यालयका विद्यार्थी खुला चौरमा पढ्न बाध्य भएको बताए।
विद्यालयका प्रधानाध्यापक अम गुरुङले भवन अभावकै बीच प्राकृतिक विपत्तिले थप समस्या सिर्जना गरेको गुनासो गरे। “बालबालिकालाई खुला चौरमा राखेर पढाउनुपर्ने अवस्था आएको छ। हावाहुरी र वर्षाका बेला साना बालबालिकालाई बाहिर राखेर पढाउनु निकै कठिन र जोखिमपूर्ण हुन्छ,” उनले भने।
वडा अध्यक्ष कमलबहादुर क्षत्रीले तत्काल वडाको विपद् कोषबाट पालको व्यवस्था गरी पठनपाठन सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए। साथै नगरपालिका, सामाजिक विकास कार्यालय र जिल्ला प्रशासन कार्यालयसँग पनि मर्मत तथा सहयोगका लागि पहल गरिने उनले बताए।
घटनापछि जिल्ला प्रहरी कार्यालय डोल्पा बाट खटिएको टोलीले घटनास्थलको मुचुल्का तयार गरेको छ। प्रहरीका अनुसार घटनाबाट विद्यालय भवन र कृषकको स्याउ फर्ममा ठूलो क्षति पुगेको भए पनि रातिको समय भएकाले मानवीय क्षति भने हुन पाएन।
शुक्रबार दिउँसोदेखि चलेको हावाहुरीले डोल्पाका अन्य क्षेत्रमा समेत क्षति पुर्याएको हुन सक्ने अनुमान गरिएको छ।
भीषण हावाहुरीले विद्यालयको छाना उड्यो, लाखौंको क्षति, खुला चौरमा पढ्न बाध्य विद्यार्थी
तपाईको प्रतिक्रिया

डोल्पा न्यूज । ९ जेष्ठ २०८३, शनिबार १३:१०