ताजा समाचार

डोल्पाका सांसद धनबहादुर बुढाद्वारा विकासका लागि प्रधानमन्त्रीसंग एक अर्ब माग

विष्णुप्रसाद देवकोटा
डोल्पा ।भौतिक पूर्वाधारदेखि सामाजिक क्षेत्रसम्मको समग्र विकासलाई केन्द्रमा राख्दै डोल्पाका प्रतिनिधिसभा सदस्य धनबहादुर बुढाले प्रधानमन्त्रीसमक्ष एक अर्ब रुपैयाँ बराबरको विस्तृत विकास प्रस्ताव पेश गरेका छन्। भेरी करिडोरअन्तर्गत ल्यासीक्याप–सिसौल सडक निर्माणलाई मुख्य प्राथमिकतामा राखिएको उक्त प्रस्तावले जिल्लाको दीर्घकालीन रूपान्तरण लक्ष्य राखेको छ।
प्रस्तावअनुसार ३३ किलोमिटर लामो ल्यासीक्याप–सिसौल सडकको ट्र्याक खोल्न ठूलो बजेट आवश्यक पर्ने औंल्याइएको छ। यससँगै दुनै–ल्यासीक्याप स्तरोन्नति, दुनै–डोल्पो सडक निर्माण, दुनै–जुफाल कालोपत्रे, जुफाल–त्रिपुरासुन्दरी–सुपानी विस्तार र त्रिपुरासुन्दरी–मुकुट–साल्दाङ सडक ट्र्याक खोल्ने योजना पनि अघि सारिएको छ। भेरी करिडोरका बाँकी खण्ड तीव्र गतिमा अघि बढाउने, आन्तरिक सडक सञ्जाल विस्तार र पुल निर्माणलाई समेत प्राथमिकता दिइएको छ।
सडक मात्र होइन, प्रस्तावमा स्वास्थ्य, शिक्षा, ऊर्जा, खानेपानी, पर्यटन, कृषि, खेलकुद र सूचना प्रविधि क्षेत्रलाई समेटिएको छ। जिल्ला अस्पताललाई विशेषज्ञ सेवासहित स्तरोन्नति गर्ने, माथिल्लो डोल्पामा सुविधा सम्पन्न अस्पताल स्थापना गर्ने तथा स्वास्थ्य चौकीहरूमा जनशक्ति र औषधि आपूर्ति सुनिश्चित गर्ने योजना राखिएको छ।
शिक्षातर्फ त्रिभुवन विश्वविद्यालयअन्तर्गत क्याम्पस स्तरोन्नति, नमुना आवासीय विद्यालय र प्राविधिक शिक्षालय सञ्चालनका कार्यक्रम प्रस्ताव गरिएको छ। त्यस्तै, ऊर्जा क्षेत्रमा राष्ट्रिय प्रसारण लाइन विस्तार, लघु जलविद्युत् आयोजना तथा सौर्य ऊर्जा प्रवर्द्धनमार्फत घरधुरीसम्म विद्युत् पहुँच पुर्‍याउने लक्ष्य लिइएको छ।
खानेपानी र सरसफाइ सुधार, दुर्गम बस्तीमा स्वच्छ पानीको पहुँच विस्तार, तथा जलस्रोत संरक्षणका कार्यक्रम पनि प्रस्तावमा समेटिएका छन्। पर्यटनतर्फ फोक्सुण्डो ताल, शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र त्रिपुरासुन्दरी मन्दिर क्षेत्रको संरक्षण तथा पूर्वाधार विकासमार्फत अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने योजना अघि सारिएको छ।
सांसद बुढाका अनुसार प्रधानमन्त्रीले सांसदमार्फत सिफारिस भएका योजनालाई प्राथमिकतामा राख्ने संकेत दिएका छन्।

तपाईको प्रतिक्रिया