ताजा समाचार

निशुल्क आँखा शिविरमा मोतिबिन्दु,आँखामा मासु पलाएको र उल्टो परेलाकाे निःशुल्क उपचार

विष्णुप्रसाद देवकोटा
डोल्पामा भदौ १७ गतेदेखि निःशुल्क मोतिबिन्दु छनोट आँखा शिविर सञ्चालन हुने भएको छ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डोल्पा, उपशाखा त्रिपुराकोट, त्रिपुरासुन्दरी नगरपालिकाको कार्यालय, चारिटी हेल्थ फाउन्डेसन धनगढी र आँखा अस्पताल सुर्खेतको संयुक्त आयोजनामा शिविर सञ्चालन हुन लागेको हो।
शिविर भदौ १७ गते फोक्सुण्डो आधारभूत विद्यालय, खदाङबाट सुरु हुनेछ। भदौ १८ गते सामुदायिक स्वास्थ्य इकाइ, ल्हाँमा शिविर सञ्चालन हुनेछ।
यस्तै, भदौ १९ गते स्वास्थ्य चौकी, फुल्चिङ, भदौ २० गते स्वास्थ्य चौकी, लिकु र भदौ २१ गते आधारभूत स्वास्थ्य केन्द्र, मुहुमा शिविर सञ्चालन हुनेछ।
भदौ २२ गते रामशाह आधारभूत विद्यालय, बन्तडी र भदौ २३ गते आधारभूत स्वास्थ्य केन्द्र, रावतवाडामा शिविर सञ्चालन हुने आयोजकले जनाएको छ।
शिविरबाट वडा नम्बर ६, ५, ४, ९ र १०, ११ तथा ८ का स्थानीय लाभान्वित हुनेछन्।
शिविरमा दृष्टि परीक्षण, आँखाको परीक्षण तथा निःशुल्क औषधि वितरण गरिनेछ। नजिकको लेखपढ गर्न समस्या हुनेलाई चस्मा वितरण गरिनेछ। दृष्टि कमजोर भएकाहरूको पहिचान गरी आवश्यक परेमा प्रेषण सेवा पनि दिइनेछ।
मोतिबिन्दु, आँखामा मासु पलाएका तथा झिल्लीसम्बन्धी समस्याका बिरामीको निःशुल्क शल्यक्रिया गरिनेछ। आँखाका अन्य आवश्यक शल्यक्रिया पनि निःशुल्क गरिने स्वास्थ्य शाखा प्रमुख तुलबहादुर श्रेष्ठले जानकारी दिए ।श्रेष्ठका अनुसार शल्यक्रिया भएका बिरामीलाई निःशुल्क औषधि तथा सुरक्षात्मक कालो चस्मासमेत वितरण गरिनेछ।

शल्यक्रियापछि एक हप्ता र एक महिनामा फलोअप सेवा उपलब्ध हुने जनाइएको छ।आँखा शिविरका लागि नाम दर्ता बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म हुनेछ। नाम दर्ता शुल्क ३० रुपैयाँ तोकिएको छ।
मोतिबिन्दु छनोट शिविरबाट पहिचान भएका बिरामीको निःशुल्क शल्यक्रिया भने भदौ २५ गते त्रिपुराकोट स्वास्थ्य चौकी बगर, डोल्पामा गरिने आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया