विष्णुप्रसाद देवकोटा
डोल्पा, जेठ ३०। काईके गाउँपालिका अध्यक्ष अंगतकुमार रानामगरले पानीडाल क्षेत्र डोल्पाभित्र पर्ने भनी आफूले दिएको अभिव्यक्ति फिर्ता लिएका छन्।
पत्रकार सम्मेलनमार्फत उनले उक्त क्षेत्र पूर्वी रुकुम जिल्लाकै क्षेत्राधिकारभित्र पर्ने स्पष्ट पारेका हुन्।
अध्यक्ष रानामगरले जेठ १९ गते जिल्ला समन्वय समिति डोल्पाको सभाहलमा आयोजित डोल्पा र पूर्वी रुकुम जिल्लाका सुरक्षा अधिकारीहरूबीचको सीमा विवादसम्बन्धी समन्वयात्मक बैठकमा पुथाउत्तरगंगा गाउँपालिका–१, मैकोट क्षेत्रमा पर्ने पानीडाल डोल्पाको सिमानाभित्र रहेको भनी धारणा व्यक्त गरेका थिए।
उक्त अभिव्यक्तिपछि सामाजिक सञ्जाल तथा स्थानीय तहमा व्यापक चर्चा र विवाद उत्पन्न भएको थियो। विवाद चर्किएपछि पूर्वी रुकुमको पुथाउत्तरगंगा गाउँपालिका–१ मैकोटका वडा सदस्य विक्रम पुनको नेतृत्वमा स्थानीयहरू जाङ्ला भञ्ज्याङ क्षेत्रमा भेला भएका थिए।
उनीहरूले पानीडाल क्षेत्रलाई डोल्पाको भूभाग भनेर गरिएको दाबीप्रति आपत्ति जनाएका थिए।यस घटनापछि दुवै जिल्लाका सरोकारवाला निकायबीच समन्वय र संवाद भएको थियो।
सोही क्रममा अध्यक्ष रानामगरले आफ्नो अभिव्यक्ति तथ्यगत रूपमा सही नभएको स्वीकार गर्दै फिर्ता लिएका हुन्।
पत्रकार सम्मेलनमा उनले काईके गाउँपालिकाको गाउँभेलाले समेत पानीडाल क्षेत्र पूर्वी रुकुमकै भूभाग रहेको निष्कर्षसहित निर्णय गरिसकेको जानकारी दिए।
गाउँपालिकाको आधिकारिक धारणा र स्थानीय निर्णयलाई सम्मान गर्दै आफूले यसअघि व्यक्त गरेको भनाइ सच्याएको उनले बताए।
अध्यक्ष रानामगरले आफ्नो अभिव्यक्तिका कारण उत्पन्न असहजता र विवादप्रति खेद व्यक्त गर्दै भविष्यमा यस्ता संवेदनशील विषयमा तथ्य, प्रमाण र आधिकारिक निर्णयका आधारमा मात्रै सार्वजनिक धारणा राख्ने प्रतिबद्धता जनाए।
उनको स्पष्टीकरण र माफीपछि विवाद समाधानतर्फ उन्मुख भएको तथा जाङ्ला भञ्ज्याङ क्षेत्रमा भेला भएका पूर्वी रुकुमका स्थानीयहरू आफ्नो स्थानतर्फ फर्किएको जिल्ला प्रशासन कार्यालय डाेल्पाका सहायक प्रमुख जिल्ला अधिकारी रमेश पाैडेलले जानकारी दिए ।
पानीडाल पूर्वी रुकुमकै भूभाग रहेको स्वीकार्दै काईके अध्यक्षले फिर्ता लिए अभिव्यक्ति
तपाईको प्रतिक्रिया

डोल्पा न्यूज । ३० जेष्ठ २०८३, शनिबार १९:२४