ताजा समाचार

जगदुल्लामा बालविवाहको शृङ्खला तोड्दै सबिना बोहोराको साहसी अभियान

विष्णुप्रसाद देवकोटा
डोल्पा ।धेरै किशोरीको सपना विद्यालयको कक्षा कोठाबाट सिधै विवाहको मण्डपमा पुगेर टुंगिन्थ्यो।जसकाे कारण थियाे,गुणस्तरीय सडक अभाव, दुर्गम बस्ती, सीमित शिक्षा र स्वास्थ्य सेवा, गरिबी, अशिक्षा तथा परम्परागत सामाजिक सोचका कारण यहाँ बालविवाह लामो समयसम्म सामान्य सामाजिक अभ्यासकै रूपमा रह्यो। हिमाली जिल्ला डोल्पाको विकट गाउँपालिका मध्येको जगदुल्लामा भूगोलले विकासका धेरै सम्भावनालाई वर्षौँदेखि चुनौती दिँदै आएको छ।
तर अहिले यही जगदुल्ला गाउँपालिकामा एउटा फरक कथा लेखिँदै छ। त्यो कथा हो—३० वर्षीया सामाजिक अभियन्ता सबिना बोहोराको, जसले बालविवाहविरुद्धको अभियानलाई कार्यक्रमको औपचारिकताभन्दा माथि उठाएर समुदायकै साझा आन्दोलनमा रूपान्तरण गर्ने प्रयास गरिरहेकी छन्।
सामाजिक सेवाबाट सुरु भएको यात्रा
त्रिपुरासुन्दरी नगरपालिका–७ पहाडामा २०५३ असोज २ गते जन्मिएकी सबिना बोहोराले किशोरावस्थादेखि नै समाज परिवर्तनको सपना देखेकी थिइन्।
२०७० सालमा किडार्क नेपालमा सामाजिक परिचालिकाका रूपमा काम सुरु गर्दै उनले शिक्षा, महिला सशक्तीकरण र समाजमा रहेका विकृति–विसंगति न्यूनीकरणका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गरिन्। अत्यन्तै विकट मानिने जगदुल्ला गाउँपालिकामा रोजगारी संयोजकका रूपमा काम गर्दै गर्दा उनले नजिकबाट समाजका अनेक चुनौती देखिन्।
२०७७ सालमा गाउँपालिकाको बैठकले उनलाई बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुखको जिम्मेवारी दिएपछि उनको सामाजिक अभियानले नयाँ गति लियो। जिम्मेवारीसँगै उनले एउटा प्रश्नलाई केन्द्रमा राखिन्—”किन अझै बालबालिकाको भविष्यभन्दा बालविवाहलाई प्राथमिकता दिइन्छ?”
समस्या देखेर होइन, समाधान खोजेर अघि बढिन् सबिना
जगदुल्लामा बालविवाह केवल कानुनी विषय थिएन। गरिबी, अशिक्षा, सामाजिक दबाब, परम्परा र सीमित अवसरले यसलाई जटिल सामाजिक समस्याका रूपमा स्थापित गरेको थियो।
सबिनाले त्यसलाई आदेशले होइन, संवादबाट समाधान गर्ने बाटो रोजिन्। गाउँपालिका अध्यक्ष नारासिंह रोकायासँग निरन्तर छलफल गर्दै उनले विद्यालय, महिला सहकारी, किशोर–किशोरी समूह, बाल क्लब, युवा क्लब र समुदायलाई एउटै अभियानमा जोडिन्।
उनका लागि बालविवाह विरुद्धको अभियान भनेको केवल विवाह रोक्नु होइन, एउटा पुस्ताको भविष्य सुरक्षित गर्नु थियो।
चेतनाको अभियान घर–घरमा
सबिना बोहोराले सञ्चालन गरेका अभियान विद्यालयका कक्षाकोठादेखि गाउँका चौतारासम्म पुगे।
बालविवाह, बालश्रम, बालहिंसा, लागूऔषध दुव्र्यसन, महिला हिंसा र किशोर–किशोरी अधिकारबारे नियमित जनचेतनामूलक कार्यक्रम सञ्चालन भए। समुदायमा खुला छलफल, अभिभावकसँग संवाद, महिला समूहको सक्रियता र बाल क्लबको सहभागिताले विस्तारै समाजको सोच बदलिन थाल्यो।
कुनै समय “छिट्टै विवाह गरिदिए जिम्मेवारी सकिन्छ” भन्ने सोच बलियो थियो। अहिले धेरै अभिभावक “पहिले पढाइ, त्यसपछि विवाह” भन्न थालेका छन्।
तथ्यले देखाएको परिवर्तन
सबिना बोहोराको नेतृत्वमा सञ्चालित अभियानले जगदुल्लामा उल्लेखनीय परिणाम देखाएको छ।आव २०७५/०७६ : ४३ बालविवाह आव २०७६/०७७ : ३६ आव २०७७/०७८ : ३४ आव २०७८/०७९ : १४ आव २०७९/०८० : ९ आव २०८०/०८१ : ६ आव २०८१/०८२ : ३ आव २०८२/०८३ : शून्य यी तथ्याङ्क केवल संख्याको गिरावट होइनन्, समुदायको सोच परिवर्तन भएको संकेत हुन्।
बालविवाहमुक्त वडा घोषणाको तयारी
अभियान अहिले अर्को चरणमा पुगेको छ। जगदुल्ला गाउँपालिकाको वडा नम्बर ४ छाँचु र चौरीकोटमा करिब ९० प्रतिशत बालविवाह न्यूनीकरण भएको दाबी गरिएको छ। ती वडालाई बालविवाहमुक्त वडा घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको छ।
त्यसपछि क्रमशः अन्य वडामा पनि अभियान विस्तार गर्दै सिङ्गो जगदुल्ला गाउँपालिकालाई बालविवाहमुक्त पालिका घोषणा गर्ने लक्ष्य लिइएको छ।
नीतिगत रूपमा पनि सशक्त पहल
सबिना बोहोराको पहलमा गाउँपालिकाले अब बालविवाह नियन्त्रणलाई अभियानमा मात्र सीमित नराखी नीतिगत रूपमा अघि बढाउन थालेको छ।
आर्थिक वर्ष २०८३/०८४ मा बालविवाह, बालश्रम र बालहिंसा न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्न १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।
२० वर्ष पूरा गरेर विवाह गर्ने जोडीलाई सम्मान गर्ने कार्यक्रम, महिला सशक्तीकरण, विद्यालयस्तरीय सचेतना, समुदायस्तरीय बहस तथा महिला हिंसा न्यूनीकरणका गतिविधि नियमित सञ्चालन गर्ने योजना छ।
साथै बालविवाह, बालश्रम तथा महिला हिंसा रोकथाम तथा नियन्त्रणसम्बन्धी आवधिक रणनीतिक योजना निर्माण गरी कार्यान्वयन गर्ने प्रक्रिया पनि अघि बढिरहेको छ।
परिवर्तनको वास्तविक अर्थ
सबिना बोहोराका लागि सफलता कुनै कार्यक्रमको संख्या होइन।सफलता तब हुन्छ, जब किशोरीले आफ्नो भविष्य आफैं रोज्न पाउँछिन्।
जब अभिभावकले छोरीलाई विद्यालय पठाउन गर्व गर्छन्।
जब महिला सहकारी, बाल क्लब, विद्यालय, युवा समूह र स्थानीय सरकारले एउटै उद्देश्यका साथ हातेमालो गर्छन्।
जब समुदायले बालविवाहलाई परम्परा होइन, सामाजिक अपराध र विकासको बाधाका रूपमा बुझ्न थाल्छ तब सांचाे परिवर्तनको अर्थ हुन्छ।
नयाँ पुस्ताको नेतृत्व, नयाँ सम्भावना
३० वर्षको उमेरमै सबिना बोहोराले देखाएको नेतृत्वले जगदुल्लामा सामाजिक अभियानको नयाँ आयाम थपेको छ। उनले प्रमाणित गरेकी छन्—परिवर्तनका लागि उमेरभन्दा पनि दृष्टि, प्रतिबद्धता र निरन्तरता आवश्यक हुन्छ।
डोल्पाको विकट भूगोल अझै उस्तै छ। धेरै चुनौती अझै बाँकी छन्। तर एउटा सकारात्मक परिवर्तन भने स्पष्ट देखिन्छ—जहाँ कुनै समय बालविवाहलाई संस्कार मानिन्थ्यो, त्यहीँ आज शिक्षा, समानता, आत्मनिर्भरता र सुरक्षित भविष्यको बहस भइरहेको छ।तसर्थ सबिना बोहोराको अभियानले यही सन्देश दिन्छ—समाज परिवर्तन कुनै एक दिनको उपलब्धि होइन, निरन्तर चेतना, सहकार्य र विश्वासको यात्राबाट मात्र सम्भव हुने छ।

तपाईको प्रतिक्रिया