ताजा समाचार

अठार वर्षपछि अन्धकारमा छलगाड:ब्यारिङ चुंडिँदा आइतबारदेखि २७५ घरधुरीको बिजुली बन्द

डोल्पा । त्रिपुरासुन्दरी नगरपालिका–१ अन्तर्गत लोका क्षेत्रमा सञ्चालित छलगाड लघुजलविद्युत आयोजनाको विद्युत सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ। जेनेरेटरको मुख्य ब्यारिङ चुंडिएपछि आइतबार बिहानदेखि विद्युत आपूर्ति बन्द हुँदा स्थानीय २ सय ७५ घरधुरी अन्धकारमा बस्न बाध्य भएका हुन्।
विद्युत अवरुद्ध भएसँगै त्रिपुराको रल्ली, गल्ली र करेलीकाँडा लगायत चार गाउँका बासिन्दाको जनजीवन प्रभावित बनेको छ। साँझ पर्नासाथ गाउँहरू पुनः दियालोको भरमा फर्किएका छन्।

स्थानीयका अनुसार अहिले धेरै घरमा पुनः वनबाट पाइने “ध्यार” को दियालो बालेर रात कटाउनुपर्ने अवस्था सिर्जना भएको छ।
२०६४ साल असारमा स्थापना गरिएको उक्त लघुजलविद्युत आयोजना विश्व वन्यजन्तु कोष नेपालको आर्थिक सहयोगमा पर्यावरण संरक्षण गर्ने उद्देश्यसहित निर्माण गरिएको थियो।

स्थापनायता करिब १८ वर्षसम्म स्थानीयस्तरमै सञ्चालन र रेखदेख हुँदै आए पनि पछिल्लो समय आर्थिक अभावका कारण आयोजना संकटमा पर्दै गएको छ।
विद्युत व्यवस्थापक मोतिप्रसाद हमालका अनुसार बिग्रिएको ब्यारिङसहित आवश्यक उपकरण खरिद गर्न करिब ८० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।

तर, विद्युत व्यवस्थापन समितिको कोष पूर्ण रूपमा रित्तिएको हुँदा मर्मत कार्य तत्काल अघि बढाउन समस्या भएको उनले बताए।
“साना मर्मतमा वडा कार्यालय र नगरपालिकाबाट बेला–बेलामा सहयोग मिल्ने गरेको छ,” उनले भने, “तर दीर्घकालीन व्यवस्थापन नहुँदा आयोजनाको अवस्था झन् जटिल बन्दै गएको छ।”
नगरपालिका केन्द्र नजिककैका बस्ती नै अन्धकारमा डुब्न पुगेपछि स्थानीयवासीले सम्बन्धित निकायसँग तत्काल आर्थिक व्यवस्थापन गरी विद्युत सेवा पुनः सञ्चालन गर्न माग गरेका छन्।

तपाईको प्रतिक्रिया