विष्णुप्रसाद देवकोटा
डोल्पाको उत्तरी क्षेत्र उपल्लो डोल्पामा निर्वाचन प्रचारका क्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कार्यकर्ताबीच विवाद चर्किँदा दुई स्थानमा ढुङ्गा हानाहान भएको छ। केही समय क्षेत्र तनावग्रस्त बने पनि हाल अवस्था नियन्त्रणमा रहेको सुरक्षा निकायले जनाएको छ।
सोमबार दिउँसो करिब २ बजेतिर साल्दाङ क्षेत्रमा एमालेको प्रचार टोलीले स्थानीय नेतासँग छलफल गरिरहेका बेला नेकपाका कार्यकर्ताले ढुङ्गामुढा प्रहार गरेपछि झडप सुरु भएको थियाे । प्रलोपाका उम्मेदवार विकास बुढाका अनुसार ढुङ्गा प्रहारबाट जोगिन भाग्ने क्रममा एमालेका केही कार्यकर्ता सामान्य घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक रुकबहादुर खड्काले दुवै पक्ष प्रचारका क्रममा बाटोमा भेट हुँदा विवाद बढेर झडपमा परिणत भएको जानकारी दिए। घटना पछि तत्काल प्रहरी टोली परिचालन गरि स्थिति नियन्त्रण लिइएकाे उनले बताए।
साल्दाङ घटनापछि एमालेका नेताकार्यकर्ता डोल्पो बुद्ध गाउँपालिकाको धो उपत्यकातर्फ फर्किने क्रममा शे फाेक्सुण्डाे गाउँपालिकाकै रापगाउँमा सुरक्षित अवस्थामा बसेकाे बताइएकाे छ । सुरक्षाकर्मी परिचालन गरी उनीहरूलाई सुरक्षित स्थानमा पुर्याइएको प्रशासनले जनाएको छ।
यसैबीच, साल्दाङ घटनाको विरोधमा त्रिपुरासुन्दरी नगरपालिका–२ मद्दुबाट घरदैलो सकेर त्रिपुराकोट बगरबजारतर्फ आउँदै गरेका नेकपाका उम्मेदवार धनबहादुर बुढा र उनका कार्यकर्तालाई साँझ करिब ५:३० बजे त्रिपुरासुन्दरी–१ रल्लीस्थित राजारानी नजिक एमाले कार्यकर्ताले अवरोध गरेपछि पुनः ढुङ्गा हानाहानकाे अवस्था सृजना भएको थियो।
नेकपाका उम्मेदवार बुढाले आफूहरूलाई चुनावी प्रचारमा अवरोध गर्न खोजिएपछि थप कार्यकर्ता परिचालन गरी प्रतिकार गरेको दाबी गरेका थिए। प्रत्यक्षदर्शी राजिब कठायतका अनुसार त्यसपछि केहीबेर भागदौडको स्थिति सिर्जना भएको थियो। घटनापछि नेकपाको टोली शक्ति प्रदर्शनसहित त्रिपुरासुन्दरी–७/८ वडा क्षेत्रमा पर्ने पहाडातर्फ चार गाडी कार्यकर्ता लिएर प्रचारमा गएको बुझिएको छ। उक्त क्षेत्र एमालेको प्रभाव क्षेत्र मानिन्छ।
प्रमुख जिल्ला अधिकारी जुनु हमाल (ढका) ले साल्दाङमा भएको विवादपछि सुरक्षाकर्मी परिचालन गरी एमाले कार्यकर्तालाई सुरक्षित रूपमा राप भन्ने स्थानमा ल्याइएको जानकारी दिइन्। त्रिपुरासुन्दरी क्षेत्रमा पनि पूर्वसतर्कताका कारण सामान्य ढुङ्गा हानाहान बाहेक स्थिति नियन्त्रणमै रहेको उनले बताइन्।
प्रजिअ हमालका अनुसार कानुनी व्यवस्थाअनुसार राति १२ बजेसम्म चुनावी प्रचारप्रसार गर्न पाइने भएकाले सो अवधिसम्म प्रचारकार्य जारी रहन सक्ने भए पनि मध्यरातिपछि मौन अवधि सुरु हुने भएकाले त्यसपछिका गतिविधिमा कडाइ गरिनेछ। १२ बजेपछि प्रचारप्रसार गरेको पाइएमा सुरक्षाकर्मीले नियन्त्रणमा लिने चेतावनी पनि उनले दिइन्।
पछिल्ला घटनाक्रमले केही समय तनाव सिर्जना गरे पनि चुनावी वातावरणमा दीर्घकालीन प्रभाव नपर्ने स्थानीय प्रशासनको आकलन छ। प्रहरीले दुवै पक्षलाई संयमित रहन आग्रह गर्दै जिल्लाभर शान्ति सुरक्षा व्यवस्थामा कडाइ गरिएको जनाएको छ।

डोल्पा न्यूज । १८ फाल्गुन २०८२, सोमबार २०:२६