ताजा समाचार

भेरी करिडोर  जिम्मा सेनालाई दिलाएकोमा मन्त्रीलाई सांसद बुढाको धन्यवाद

विष्णुप्रसाद देवकोटा

डोल्पा ।भेरी करिडोरअन्तर्गत डोल्पाको लासिक्याप–सिसौल सडक खण्ड निर्माणको जिम्मा नेपाली सेनालाई दिने सरकारी निर्णयप्रति डोल्पाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य धनबहादुर बुढाले भौतिक पूर्वाधार तथा यातायात मन्त्री माधव चौलागाईंलाई धन्यवाद दिएका छन्।

मन्त्रालयमै पुगेर सांसद बुढाले डोल्पाली जनताको तर्फबाट उक्त निर्णयका लागि मन्त्री चौलागाईंप्रति आभार व्यक्त गरेका हुन्। दुर्गम तथा भिरालो भूगोलका कारण वर्षौँदेखि अलपत्र रहेको सडक खण्ड निर्माणमा नेपाली सेनालाई जिम्मा दिने निर्णयलाई डोल्पाको विकासका लागि महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।

भेटका क्रममा मन्त्री चौलागाईंले बुढालाई डोल्पाबाट लगातार चौथो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकोमा बधाई दिँदै समग्र जिल्लाको विकास र जनताको अपेक्षा पूरा गर्न प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरेका थिए।

सरकारले २०८१ चैत १ गते बसेको मन्त्रिपरिषद् बैठकमार्फत भेरी करिडोरको लासिक्यापदेखि सिसौलसम्म करिब ३३ किलोमिटर सडक ट्र्याक खोल्ने जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियाे। लामो समयदेखि निर्माण हुन नसकेको उक्त सडक खण्ड अन्य निकायबाट सम्भव नभएकाले सेनालाई जिम्मा दिन पटक–पटक माग हुँदै आएको थियो।

सांसद बुढाले मन्त्री चौलागाईंको विशेष पहलमा निर्णय भएकोप्रति खुशी व्यक्त गर्दै यसले सडक पहुँचबाट टाढा रहेका उपल्लो डोल्पाका बासिन्दालाई ठूलो राहत पुग्ने बताए।

नेपाली सेनाले २०७५ साल मंसिर ४ गते त्रिपुराकोटसम्म सडक ट्र्याक खोलेर औपचारिक उद्घाटन गरेको सात वर्ष बितिसक्दा पनि भेरी करिडोरले अझै पूर्णता पाउन भने सकेको छैन ।

तपाईको प्रतिक्रिया