रुकुम पश्चिममा दल परिवर्तन गरेका उपप्रमुखसहित १४ जना जनप्रतिनिधिको पद रिक्त भएको छ । निर्वाचन आयोगले बिहीबार सूचना जारी गर्दै जिल्लाका विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरू पदमुक्त भएको जनाएको हो ।
पदमुक्त हुनेमा आठबिसकोट नगरपालिकाकी उपप्रमुख धनकुमारी शाही, वडा नं. १० का अध्यक्ष गणेशकुमार शाह र वडा नं. १३ का अध्यक्ष टेकबहादुर थापा रहेका छन् ।
यस्तै, चौरजहारी नगरपालिका वडा नं. ३ का वडाध्यक्ष लालबहादुर बुढा, वडा नं. ५ का वडाध्यक्ष खुमबहादुर खड्का, वडा नं. १० का वडाध्यक्ष वीरेन्द्र रोकाय र वडा नं. ११ का वडाध्यक्ष तुस्से ओली पनि पदमुक्त भएका छन् ।
त्यसैगरी जिल्ला समन्वय समिति सदस्य गीताकुमारी केसी र कृष्णबहादुर यरी, चौरजहारी नगर कार्यपालिका सदस्य देवेन्द्र सुनार, वडा नं. ३ की दलित महिला सदस्य चरदी कामी, महिला सदस्य चन्द्रा बस्नेत, वडा नं. ५ की दलित महिला सदस्य भिमी सार्की तथा मुसिकोट नगर कार्यपालिका सदस्य राजु बिकको पद पनि रिक्त भएको आयोगले जनाएको छ ।
उनीहरू सबै २०७९ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । पछि अन्य दलमा प्रवेश गरेको भन्दै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टीले आयोगमा जानकारी गराएको थियो ।
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३२(१) तथा राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ अनुसार दल त्याग गरेको जानकारी सम्बन्धित दलको केन्द्रीय समितिले आयोगलाई गराएपछि पद स्वतः रिक्त हुने व्यवस्था रहेको छ ।
दल परिवर्तनको असर : रुकुम पश्चिममा उपप्रमुखसहित १४ जनप्रतिनिधि पदमुक्त
तपाईको प्रतिक्रिया

डोल्पा न्यूज । ३१ बैशाख २०८३, बिहीबार २१:२२