ताजा समाचार

त्रिपुरासुन्दरी–३ को वडासभा सम्पन्न : खुला बहसबाट योजना छनोट तथा बजेट विनियोजन

विष्णुप्रसाद देवकोटा 
डोल्पा । त्रिपुरासुन्दरी नगरपालिका–३, सुउमा आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षा, सार्वजनिक सुनुवाइ तथा चालु आर्थिक वर्ष २०८३/८४ को बजेट र कार्यक्रमबारे खुला छलफलसहित वडासभा सम्पन्न भएको छ।
वडा कार्यालयमा आयोजित वडासभामा गत आर्थिक वर्षको बजेट तथा कार्यक्रमको समीक्षा गर्दै चालु आर्थिक वर्षका लागि प्राप्त बजेटको विनियोजन, आगामी योजना छनोट तथा कार्यक्रम कार्यान्वयनका विषयमा स्थानीयवासी र सरोकारवालासँग प्रत्यक्ष छलफल गरिएको हो।
वडासभाका अध्यक्ष भक्तबहादुर केसीले गत आर्थिक वर्षमा प्राप्त १६ लाख रुपैयाँ बजेट शिक्षा, महिला सशक्तीकरण, युवा जागरण तथा स्वास्थ्यलगायतका क्षेत्रमा खर्च गरिएको जानकारी दिए।
चालु आर्थिक वर्ष २०८३/८४ मा वडाले प्राप्त गरेको ३४ लाख रुपैयाँ बजेट शिक्षा, स्वास्थ्य, सीपमूलक कार्यक्रम तथा कृषि उत्पादनका क्षेत्रमा स्थानीय आवश्यकता र समुदायको सहभागिताका आधारमा खर्च गर्नुपर्नेमा अध्यक्ष केसीले जोड दिए।

उनले बजेट तथा कार्यक्रम छनोटमा समुदायको सामूहिक सहभागिता अपरिहार्य रहेको बताए।
कार्यक्रमका प्रमुख अतिथि त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु कुँवरले स्थानीय तहको विकासका लागि बजेटको सही सदुपयोगसँगै योजना छनोट र कार्यान्वयनमा पारदर्शिता तथा जनसहभागिता आवश्यक रहेको बताए। स्थानीय आवश्यकताका आधारमा प्राथमिकता निर्धारण गरी योजना निर्माण गर्नुपर्नेमा उनले जोड दिए।
विशेष अतिथि गैरसरकारी संस्था महासंघ कर्णाली प्रदेशका सचिव रणबहादुर कार्कीले सार्वजनिक सुनुवाइले जनप्रतिनिधि र नागरिकबीचको सम्बन्धलाई थप जवाफदेही र पारदर्शी बनाउने बताए। विकास निर्माण तथा सामाजिक कार्यक्रम सञ्चालन गर्दा समुदायको सहभागिता, पारदर्शिता र प्रभावकारी अनुगमनलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।
त्यसैगरी, त्रिपुरासुन्दरी नगरपालिका–४ का वडाध्यक्ष तथा कार्यक्रमका अर्का विशेष अतिथि रञ्जित बुढाले विकासका योजना छनोट गर्दा वास्तविक आवश्यकता र स्थानीय प्राथमिकतालाई केन्द्रमा राख्नुपर्ने बताए। बजेट विनियोजन र कार्यान्वयनमा पारदर्शिता कायम गर्दै जनताप्रति जवाफदेही भएर काम गर्नुपर्नेमा उनले जोड दिए।
वडासभाको अवसरमा त्रिपुरासुन्दरी नगरपालिकामा कार्यालय सहयोगीका रूपमा लामो समय सेवा गरी सेवानिवृत्त भएका बालबहादुर बोहोरालाई सम्मान गरिएको थियो। प्रमुख अतिथि प्रमुख प्रशासकीय अधिकृत राजु कुँवर र वडाध्यक्ष भक्तबहादुर केसीले उनलाई प्रमाणपत्र प्रदान गर्दै दोसल्ला ओढाएर सम्मान गरेका थिए।

कार्यक्रममा वडासदस्य गोपाल केसी, शिक्षक प्रतिनिधि रामबहादुर गुरुङ, ज्ञानु गुरुङलगायतले वडामा प्राप्त बजेट सही ठाउँ र वास्तविक आवश्यकताको पहिचान गरी खर्च गर्नुपर्ने धारणा राखे। उनीहरूले बजेटलाई भागबन्डा वा अंशबण्डाको शैलीमा विनियोजन नगरी साझा आवश्यकता र ठोस योजनामा केन्द्रित गर्नुपर्नेमा जोड दिएका थिए।
त्रिपुरासुन्दरी नगरपालिका–३ ले नगरपालिकाका ११ वडामध्ये सार्वजनिक सुनुवाइ, खुला बहस र नागरिक सहभागितामार्फत बजेट तथा कार्यक्रम छनोट गर्ने प्रयास गरेको छ। जनप्रतिनिधि, कर्मचारी, स्थानीयवासी तथा सरोकारवालाबीच खुला छलफल गरी योजना र प्राथमिकता निर्धारण गर्ने यो अभ्यास पारदर्शिता, सुशासन र जनउत्तरदायित्वका दृष्टिले अनुकरणीय देखिएको छ।
वडाले सुरु गरेको यस्तो अभ्यासलाई अन्य वडाले समेत अनुसरण गर्न सके बजेट विनियोजनमा पारदर्शिता बढ्नुका साथै स्थानीय आवश्यकता, जनसहभागिता र ठोस परिणाममा आधारित विकास योजनालाई बल पुग्ने देखिन्छ।

तपाईको प्रतिक्रिया