ताजा समाचार

हिमाली सुनको खोजीमा डोल्पाका पाटन भरिभराउ

विष्णुप्रसाद देवकोटा /रुपपाटन
डोल्पाका उच्च हिमाली क्षेत्रमा रहेका यार्सागुम्बा पाटन खुला भएसँगै यतिबेला दर्जनौँ पाटनमा अस्थायी मानवबस्ती बसेका छन् । बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलन गर्न जिल्लाभरका मानिसहरू ज्यानकै जोखिम मोलेर हिमाली पाटनतर्फ उक्लिएका हुन् ।
“हिमाली सुन” भनेर चिनिने यार्सागुम्बा टिप्न डोल्पाका तीन दर्जनभन्दा बढी पाटनमा अहिले हजारौँ संकलक व्यस्त छन् । डोल्पासँगै कर्णाली प्रदेशका विभिन्न जिल्ला तथा देशका अन्य भागबाट समेत मानिसहरू यार्सा संकलनका लागि यहाँ पुग्ने गरेका छन् । विशेषगरी रुकुम पश्चिम, रुकुम पूर्व, जाजरकोट, जुम्ला, सल्यान, दैलेख, अछाम, बाजुरा, हुम्ला र मुगुबाट हरेक वर्ष ठूलो संख्यामा संकलक डोल्पाका पाटनमा आउने गर्छन् ।
पाटनहरूमा स्कुले बालबालिका, दुधेबालक च्यापेका महिला, युवादेखि वृद्धवृद्धासम्म पुगेका छन् । झण्डै एक महिनाको कमाइले वर्षभरिको घरखर्च धान्न सकिने आशामा अधिकांश परिवार गाउँघर छाडेर पाटनमै बसाइँ सरेका छन् ।
गाउँका घरमा झ्यालढोका बन्द छन्, कतिपय बस्ती सुनसान बनेका छन् । ठुलिभेरी नगरपालिका–६ का लक्ष्मी चन्दका अनुसार, गाउँमा रहेका वृद्धवृद्धाको मृत्यु भए पनि सद्गद गर्न र मलामी जान मान्छे नपाइने अवस्था हरेक वर्ष दोहोरिने गरेको छ ।
एक वटा यार्सागुम्बा नै हजारौँ रुपैयाँमा बिक्री हुने भएकाले मानिसहरू भीर, हिमपहिरो र कठ्याङ्ग्रिने चिसोलाई बेवास्ता गर्दै पाटनमा रातदिन खटिरहेका छन् । घुँडासम्म धसिने हिउँ, भीरालो भूगोल र अस्थिर मौसमका बीच बुके पाटनदेखि चिनाराङ्सी, रातामाटा र पोकेपानीसम्म संकलकहरूको भीड लागेको छ ।जिल्ला समन्वय समितिको सभाहलमा वैशाख २२ गते बसेको सर्वपक्षीय तथा सर्वदलीय बैठकले सबै यार्सा पाटन जेठ १० गतेदेखि खुला गर्ने निर्णय गरेको थियो । तर केही सामुदायिक वन उपभोक्ता समितिले बासस्थान व्यवस्थापन र बाहिरी जिल्लाबाट आउने संकलकलाई रसिद वितरण गर्न समय अभाव भएको जनाउँदै केही पाटन दुई दिन ढिलो गरी जेठ १२ गते मात्रै खुला गरेका थिए । विशेषगरी ठुलिभेरी नगरपालिका क्षेत्रका चिनाराङ्सी, रातामाटा र पोकेपानी पाटन जेठ १२ गतेबाट सञ्चालनमा आएका हुन् ।
तर पाटनमा पुगेका यार्सागुम्बा संकलक तथा स्थानीयका अनुसार कतिपय क्षेत्रमा सम्बन्धित स्थानीयले “हेरालो” को नाममा पाटन औपचारिक रूपमा खुल्नुअघि नै प्रत्येक घरधुरीबाट यार्सा संकलन गरिसक्ने गरेका छन् । त्यसपछि अन्तरपालिका तथा बाहिरी जिल्लाबाट आउने संकलकबाट शुल्क असुल गर्नका लागि मात्रै रसिद वितरण र बासस्थान व्यवस्थापनको बहाना बनाएर पाटन ढिलो खोल्ने गरिएको आरोप समेत लाग्ने गरेको छ ।

उनीहरूका अनुसार कतिपय अवस्थामा जिल्ला समन्वय समितिको निर्णयलाई समेत बेवास्ता गरिएको देखिन्छ । आगामी दिनमा यस्ता गतिविधितर्फ सम्बन्धित निकायको गम्भीर ध्यान पुग्नुपर्ने स्थानीयको माग छ ।
तिब्बती भाषामा “यार्सा” भनेको गर्मीयामको घाँस र “गुम्बा” भनेको जाडोयामको कीरा भन्ने अर्थ लाग्छ । जनविश्वासअनुसार हिमाली क्षेत्रमा चर्ने याक तथा चौँरीले यार्सागुम्बा खाएपछि अत्यन्त शक्तिशाली र फूर्तिलो हुने देखेपछि मानिसहरूले यसको प्रयोग सुरु गरेका थिए । पछि यो जडीबुटी तिब्बती तथा चिनियाँ परम्परागत औषधिमा बहुमूल्य मानिन थाल्यो ।
वैज्ञानिक रूपमा हेर्दा यार्सागुम्बा एउटा फङ्गस हो, जसले भुइँमुनि बस्ने पुतली प्रजातिको लार्भालाई संक्रमित गरेर उम्रिन्छ । जाडोमा कीराको रूपमा रहने र गर्मीयाममा घाँसजस्तो उम्रिने भएकाले यसको नाम यार्सागुम्बा रहन गएको हो ।
यार्सागुम्बा विश्वकै महँगा प्राकृतिक जडीबुटीमध्ये एक मानिन्छ । अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य गुणस्तरअनुसार लाखौँ रुपैयाँसम्म पुग्ने गरेको छ । नेपालका हिमाली जिल्लामध्ये डोल्पालाई गुणस्तरीय र धेरै यार्सागुम्बा पाइने “भण्डार” का रूपमा लिइन्छ । यही कारण हरेक वर्ष याम सुरु भएसँगै यहाँ हजारौँ संकलक र व्यापारीको चहलपहल बढ्ने गर्छ ।
विशेषगरी चीनमा यसको अत्यधिक माग छ । परम्परागत चिनियाँ औषधि, शक्ति बढाउने टनिक तथा स्वास्थ्यवर्द्धक सामग्रीका रूपमा प्रयोग हुने भएकाले यार्सागुम्बालाई “हिमालयन गोल्ड” अर्थात् “हिमाली सुन” को उपमा दिइन्छ ।
तर पछिल्ला वर्षहरूमा डोल्पामा यार्सागुम्बा उत्पादनमा उल्लेख्य ह्रास आउन थालेको स्थानीयको गुनासो छ । पहिले केही घण्टामै प्रशस्त यार्सा भेटिने पाटनमा अहिले दिनभर खोज्दा पनि थोरै मात्र पाइने अवस्था बनेको उनीहरू बताउँछन् । कतिपय संकलक त अघिल्ला वर्षको तुलनामा कम पाइएपछि एकै दिनमै पाटनबाट फर्किने गरेका छन् ।
रुपपानी सामुदायिक वन व्यवस्थापन तथा सिजन व्यवस्थापन उपसमिति संयोजक रुद्रबहादुर रोकायाका अनुसार जथाभावी उत्खनन, अत्यधिक मानव चाप, अव्यवस्थित व्यवस्थापन, मानिससँगै पशुचौपायाको बढ्दो पहुँच, प्लास्टिकजन्य फोहोर तथा जलवायु परिवर्तनका कारण यार्सागुम्बाको प्राकृतिक चक्र प्रभावित भइरहेको छ ।
उनका अनुसार यार्सा पाइने घाँसे मैदानमा अनियन्त्रित हिँडडुल, जमिन कोट्याउने तरिका र फोहोर व्यवस्थापनको अभावले उत्पादनमा प्रत्यक्ष असर परेको छ ।

यही कारण अहिले यार्सागुम्बा पाइने क्षेत्रलाई संरक्षणमुखी व्यवस्थापन गर्नुपर्ने आवाज उठ्न थालेको छ । सम्बन्धित वनस्पति तथा घाँसे मैदानलाई घेराबारसहित संरक्षण गर्ने, संकलनका लागि निश्चित मापदण्ड बनाउने, प्लास्टिक निषेध गर्ने र संकलकको संख्या व्यवस्थापन गर्नुपर्ने माग स्थानीय सरोकारवालाले राखेका छन् ।
उच्च हिमाली पाटनहरू अहिले अस्थायी बजारमा परिणत भएका छन् । डोल्पामा शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्र तथा डिभिजन वन कार्यालयअन्तर्गतका सामुदायिक वन क्षेत्र गरी दर्जनौँ यार्सागुम्बा पाटनमा पाल टाँगिएका बस्ती, खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री बोकेर पुगेका व्यापारी, घोडा र खच्चडको आवतजावतले पाटन क्षेत्र अत्यन्त चहलपहलपूर्ण बनेको छ ।
आम्दानीका हिसाबले निकुञ्ज क्षेत्रका यार्सा संकलकबाट मात्रै प्रवेश तथा सेवा शुल्कबापत वर्षेनि डेढदेखि तीन करोड रुपैयाँसम्म राजस्व संकलन हुने गरेको छ । त्यसैगरी डिभिजन वनअन्तर्गतका सामुदायिक वन समितिले पनि लाखौँ रुपैयाँ आम्दानी गर्ने गरेका छन् ।
तर जोखिम भने उत्तिकै छ । हिमपहिरो, लेक लाग्ने समस्या, कठ्याङ्ग्रिने चिसो र स्वास्थ्य सेवाको अभावबीच संकलकहरू बहुमूल्य जडीबुटीको खोजीमा दिनरात खटिरहेका छन् ।
यार्सागुम्बा संकलनको समयमा पाटनमा लुटपाट, झैझगडा तथा अवैध निकासी नियन्त्रण गर्न निकुञ्ज क्षेत्रका वनमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त सुरक्षा गस्ती परिचालन गरिएको छ । त्यसैगरी डिभिजन वनअन्तर्गतका सामुदायिक वन क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा समुदायका हेरालुसहित सुरक्षा निगरानी बढाइएको छ ।
सामुदायिक वन समिति र निकुञ्ज प्रशासनले यार्सा संकलकबाट प्रवेश तथा सेवा शुल्कबापत हरेक वर्ष लाखौँ रुपैयाँ राजस्व उठाउँदै आएका छन् । तर पाटनमा पुग्ने हजारौँ संकलकको स्वास्थ्य सुरक्षातर्फ भने सम्बन्धित निकाय गम्भीर बन्न सकेका छैनन् । उपचार अभावकै कारण हरेक वर्ष यार्सा पाटनमा दर्जनौँ नागरिकले ज्यान गुमाउने गरेका छन् ।

यसैबीच प्रधानमन्त्रीलाई ध्यानाकर्षण
जिल्लाका जनप्रतिनिधि, राजनीतिक दल तथा स्थानीय सरोकारवालाले यार्सागुम्बा संकलनसँग जोडिएका आर्थिक, सामाजिक, वातावरणीय तथा मानवीय समस्याप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पठाइएको ध्यानाकर्षण पत्रमा यार्सागुम्बा संकलनलाई केवल राजस्व र शुल्क उठाउने विषयमा सीमित नगरी वैज्ञानिक अनुसन्धान, मानव सुरक्षा, संरक्षण र स्थानीय लाभ सुनिश्चित हुने दीर्घकालीन नीति बनाउन माग गरिएको छ ।
पत्रमा डोल्पा, रुकुम, मुगु, जुम्ला, हुम्लालगायत जिल्लाबाट हजारौं नागरिक उच्च हिमाली पाटनमा पुग्ने गरेको उल्लेख गर्दै संकलन क्षेत्रमा स्वास्थ्य शिविर, अक्सिजन, उद्धार टोली र हेलिकोप्टर उद्धारको व्यवस्था गर्न माग गरिएको छ ।
त्यस्तै वनस्पति विभाग, विश्वविद्यालय तथा अनुसन्धान संस्थामार्फत यार्सागुम्बाको वैज्ञानिक अध्ययन, उत्पादन चक्र, जलवायु प्रभाव र संरक्षण मोडेलमा अनुसन्धान सुरु गर्नुपर्ने आवश्यकता औंल्याइएको छ ।
स्थानीय समुदायलाई प्रत्यक्ष लाभ पुग्ने गरी सरकारी भण्डारण केन्द्र, पारदर्शी मूल्य निर्धारण प्रणाली र स्थानीय प्रशोधन उद्योग स्थापना गर्न समेत सुझाव दिइएको छ ।
नागरिकबाट लाखौँ रुपैयाँ राजस्व उठाउने निकायले अब संकलकहरूको स्वास्थ्य सुरक्षा, आकस्मिक उपचार, प्राथमिक स्वास्थ्य सेवा र उद्धार व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया