ताजा समाचार

त्रिपुरासुन्दरी कृषि शाखाद्वारा अनुदान कार्यक्रमकाे अनुगमन तीव्र

विष्णुप्रसाद देवकोटा
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका अन्तर्गत आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालित स्याउ, ओखर तथा तरकारी पकेट निरन्तरता कार्यक्रमको अन्तिम भुक्तानीपूर्व स्थलगत अनुगमन सम्पन्न गरिएको छ ।
अनुगमनमा त्रिपुरासुन्दरी नगरपालिका–१ का वडाअध्यक्ष तथा आर्थिक विकास समिति संयोजक रामचन्द्र कुलाल, वडा नं. ४ रंगका अध्यक्ष रन्जित बुढा लगायत जनप्रतिनिधि तथा कृषि शाखाका कर्मचारीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रम अन्तर्गत रंग क्षेत्रमा पाँच वटा स्याउ पकेट तथा दुई वटा तरकारी पकेट कार्यक्रम सञ्चालन गरिएका छन् । ५० प्रतिशत अनुदान सहयोगमा सञ्चालित कार्यक्रमअन्तर्गत अधिकांश बगैंचामा मापदण्डअनुसार बिरुवा राम्रोसँग हुर्काइएको पाइएको छ ।
आर्थिक विकास समिति संयोजक कुलालले फलफूल उत्पादनमार्फत किसानको आर्थिक जीवनस्तर माथि उठाउने उद्देश्यले नगरपालिकाले रंग गाउँलाई कृषि उत्पादनको “हब स्पट” का रूपमा विकास गर्न स्याउ, दाँते ओखर तथा तरकारी खेतीलाई प्राथमिकताका साथ प्रवर्द्धन गरिरहेको बताए । उनले किसानले आफ्नै भविष्य र सन्ततिको भविष्यसँग जोडिएको कार्यक्रम ठानेर सही स्थानमा, सही तरिकाले र इमान्दारितापूर्वक कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
वडा नं. ४ का अध्यक्ष रन्जित बुढाले रंगेली गाउँका अधिकांश बासिन्दा फलफूल खेतीमै आश्रित रहेको बताए । उनका अनुसार गाउँका किसानको मुख्य आयस्रोत नै स्याउ, दाँते ओखर र तरकारी खेती बन्दै गएको छ । उनले नगरका पूर्व तथा संस्थापक नगरप्रमुख ओमबहादुर बुढा को सपना र दूरदृष्टिअनुसार अहिले सिंगो गाउँ व्यावसायिक फलफूल खेतीमा सक्रिय भएको बताए ।

उनका अनुसार रंग गाउँमा मात्रै वार्षिक स्याउ खेतीबाट दुई करोड रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको थियो । तर, गत बैशाख १२ र १३ गते परेको भीषण असिनापानीले फुल्दै गरेका स्याउका फूल र लागेका दाना समेत झारेर सखाप पारेपछि किसान ठूलो मर्कामा परेका छन् । प्रारम्भिक अनुगमनअनुसार असिनापानीका कारण ९० प्रतिशतभन्दा बढी क्षति पुगेको जनाइएको छ ।
नगरपालिका कृषि शाखा प्रमुख रमेश रावत का अनुसार रंग गाउँ जिल्लाकै स्याउ तथा तरकारी खेतीको प्रमुख पकेट क्षेत्रका रूपमा स्थापित हुँदै आएको छ । जग्गा अभावका कारण समूहभित्र मात्र नभई समूह बाहिरका किसानलाई समेत बिरुवा वितरण गरिएको र किसानले व्यावसायिक रूपमा खेती विस्तार गरिरहेको पाइएको उनले बताए ।

यसैगरी वडा नं. ३ को सुउ गाउँमा दुई किसान समूहले सञ्चालन गरेको स्याउ खेती कार्यक्रमको समेत अनुगमन गरिएको थियो । अनुगमनका क्रममा रंग र सुउ क्षेत्रमा सिँचाइ अभावका कारण केही बिरुवा मरेको अवस्था समेत भेटिएको छ ।

कृषि शाखा प्रमुख रावतका अनुसार अधिकांश किसानले स्याउ खेतीको बीमा नगरेको पाइएको छ । उनले दैवीप्रकोपबाट भएको क्षतिको व्यवस्थापनका लागि फिल्ड प्रतिवेदन तयार गरी नगरपालिका कार्यपालिका बैठकमा पेश गरिने तथा सम्बन्धित निकायमा राहत र सहायताका लागि पहल गरिने जानकारी दिए ।
उनका अनुसार बीमा प्रक्रिया तथा भुक्तानी प्रणाली केही झन्झटिलो भएकाले दुर्गम क्षेत्रका किसान बीमातर्फ आकर्षित हुन सकेका छैनन् । किसानमा बीमाप्रति चासो र सचेतना समेत कम देखिएको भन्दै आगामी दिनमा बीमा प्रक्रिया सहज बनाउँदै किसानलाई कृषि बीमातर्फ उन्मुख गराउन आवश्यक रहेको उनले बताए ।

तपाईको प्रतिक्रिया