ताजा समाचार

उपल्लो डाेल्पाकाे धाे बाट ठूलाे परिमाणमा यार्सा र नगदसहित दुई चाेर पक्राउ

विष्णुप्रसाद देवकोटा
डोल्पा — हिमाली जिल्ला डोल्पाको माथिल्लो क्षेत्रमा घरको ताला फोडेर चोरी गरेको आरोपमा रुकुम पश्चिमका दुई जना पक्राउ परेका छन्।
डोल्पोबुद्ध गाउँपालिका–२ कलाङमा स्थानीयका घरमा चोरी भएपछि प्रहरीले गरेको अनुसन्धानबाट उनीहरू पक्राउ परेका हुन्।
प्रहरीका अनुसार भदौ ८ गते कलाङका तीन स्थानीयका घरमा कोही नभएको मौका छोपी ताला फोडेर नगद तथा गरगहना चोरी भएको सूचना प्राप्त भएको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालय डोल्पाले प्रहरी निरीक्षक पदम रावलको कमाण्डमा अनुसन्धान टोली परिचालन गरेको थियो।
टोलीले भदौ १० गते डोल्पोबुद्ध गाउँपालिका–१ धोबाट चोरीमा संलग्न रहेको आरोपमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ का ३७ वर्षीय तिलक भण्डारी र आठबिसकोट–३ खदीका ३२ वर्षीय निशान भण्डारीलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक अनिलराज गिरीका अनुसार पक्राउ परेकाहरूको साथबाट १ लाख ४८ हजार ६ सय ८५ रुपैयाँ नगद र ७ सय वटा यार्सागुम्बा बरामद भएको छ।
उनीहरूबाट तीन थान एन्ड्रोइड मोबाइल, दुई थान किप्याड मोबाइल, दुई थान स्मार्ट घडी, दुर्बिन, पावर बैंक, टर्चलाइट, सिमकार्ड, चाबी र झोलालगायतका सामानसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
त्यस्तै, दुई थान खुकुरी/चक्कु, दुई थान फलामे रड, कैँची, गुलेली, लाठी, घडीका फिता, सुनजस्तो देखिने चन्द्रमा आकारको गहना, चाँदीजस्तो देखिने बाला, कुवेर लकेटलगायतका दसीसमेत प्रहरीले बरामद गरेको छ।
पक्राउ परेका दुवै जनालाई भदौ ११ गते जिल्ला प्रहरी कार्यालय डोल्पामा ल्याइएको थियो। डोल्पा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी उनीहरूमाथि थप अनुसन्धान भइरहेको डिएसपी गिरीले जानकारी दिए।
प्रहरीले घटनामा अन्य व्यक्तिको संलग्नता भए/नभएको विषयमा समेत अनुसन्धान गरिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया