ताजा समाचार

घटस्थापनामा बालात्रिपुरासुन्दरी मन्दिरलाई वडाकाे पञ्चेबाजा उपहार

विष्णुप्रसाद देवकोटा
डोल्पा । त्रिपुरासुन्दरी नगरपालिका–१ नम्बर वडा कार्यालयले बडादसैँको पहिलो दिन घटस्थापनाको अवसर पारेर श्रीबालात्रिपुरासुन्दरी देवी योगमाया भगवती मन्दिरलाई पञ्चेबाजा हस्तान्तरण गरेको छ।
वडाध्यक्ष रामचन्द्र कुलालसहित वडा परिवार मन्दिरमै पुगेर दमाहा ५ थान, झ्याली २ थान र बहुआयामिक सुनाई १ थान मन्दिरका पुजारी भानुचन्द्र उपाध्यायलाई हस्तान्तरण गरेको हो।
वडा कार्यालयले २ लाख ७ हजार ५०० रुपैयाँ लागतमा पञ्चेबाजा खरिद गरी मन्दिरलाई प्रदान गरेको जनाएको छ।

मन्दिरमा प्रयोग हुँदै आएका बाजागाजा पुराना भएर भत्किएको र बिग्रिएको अवस्थामा रहेकाले धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षणमा सानो सहयोग पुर्‍याउने उद्देश्यले बाजागाजा उपलब्ध गराइएको वडाध्यक्ष कुलालले बताए।

बाजागाजा हस्तान्तरण कार्यक्रममा वडा कर्मचारी बलबहादुर थापा, वडासदस्य ज्ञानबहादुर बुढासहित महिला सदस्यहरूको उपस्थिति रहेको थियो।
घटस्थापनाकै दिन मन्दिरलाई पञ्चेबाजा प्रदान गरिएपछि धार्मिक अनुष्ठान, पूजाआजा तथा मौलिक सांस्कृतिक परम्परालाई निरन्तरता दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया