ताजा समाचार

कांग्रेस केन्द्रको विवाद डोल्पासम्म :देउवा पक्षले बुढालाई दियो महाधिवेशनको जिम्मा

डोल्पा । नेपाली कांग्रेसको आन्तरिक विवाद अब जिल्लास्तरसम्मै देखिन थालेको छ। १५औँ महाधिवेशनलाई लिएर कांग्रेसभित्र देखिएको दुई धारको प्रभाव डोल्पामा पनि प्रत्यक्ष रूपमा देखिएको हो।
पूर्वसभापति शेरबहादुर देउवा पक्षले डोल्पामा युवा नेता देउप्रसाद बुढा (देव)लाई १५औँ महाधिवेशन तयारीका लागि जिल्ला संयोजक तोकेको छ।
देउवा पक्षको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले बुढालाई पत्र पठाउँदै जिल्ला संयोजकको जिम्मेवारी दिएका हुन्। पत्रमा जिल्लामा महाधिवेशनसम्बन्धी गतिविधि सञ्चालन तथा समन्वय गर्ने जिम्मेवारी दिइएको उल्लेख छ।
देउवा पक्षले समानान्तर रूपमा महाधिवेशनको तयारी अघि बढाउँदै देशभर विभिन्न तहका अधिवेशनका लागि तयारी समिति गठन गरिरहेको छ। त्यसैक्रममा डोल्पामा पनि जिल्ला संयोजक तोकिएको हो।
यससँगै डोल्पा कांग्रेसमा एउटै महाधिवेशनका लागि दुई छुट्टाछुट्टै तयारी संरचना देखिएका छन्।
विशेष महाधिवेशनबाट गगनकुमार थापा सभापतिमा निर्वाचित भएपछि निर्वाचन आयोगले थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिएको थियो। त्यसपछि थापा नेतृत्वको कांग्रेसले आफ्नो कार्यतालिकाअनुसार १५औँ महाधिवेशनको प्रक्रिया अघि बढाइरहेको छ।
उता देउवा पक्षले भने विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको नेतृत्वमा १५औँ महाधिवेशन हुनुपर्ने दाबी गर्दै छुट्टै प्रक्रिया अघि बढाएको छ। देउवा पक्षले आफ्नै कार्यतालिकाअनुसार वडा तहदेखि महाधिवेशनसम्मको तयारी अघि बढाइरहेको छ।
यसअघि नै देउवा पक्षले १५औँ महाधिवेशनका लागि विभिन्न जिल्लामा प्रतिनिधि तथा तयारी संयोजक खटाउने प्रक्रिया सुरु गरिसकेको थियो। जिल्लादेखि वडासम्मका अधिवेशनका लागि तयारी समिति गठन गर्ने उसको योजना छ।
डोल्पामा बुढालाई जिल्ला संयोजक तोकिएसँगै देउवा पक्षको समानान्तर महाधिवेशन तयारीले अब जिल्लामा औपचारिक रूप लिएको छ।
एकातिर थापा नेतृत्वको कांग्रेसको महाधिवेशन प्रक्रिया अघि बढिरहेको छ। अर्कोतिर देउवा पक्षले पनि आफ्नै संरचना र कार्यतालिकासहित महाधिवेशन तयारी गरिरहेको छ।
केन्द्रीय तहमा देखिएको कांग्रेसको शक्ति संघर्ष अब जिल्लाको संगठनात्मक संरचनामै प्रतिबिम्बित हुन थालेको छ। डोल्पामा बुढाको संयोजकत्वमा अघि बढ्ने देउवा पक्षको गतिविधिले आगामी दिनमा जिल्लाको कांग्रेस राजनीतिमा पनि नयाँ समीकरण र बहस सिर्जना गर्ने देखिएको छ।

तपाईको प्रतिक्रिया