विष्णुप्रसाद देवकोटा
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ स्थित ऐतिहासिक श्रीबालात्रिपुरासुन्दरी योगमाया भगवती मन्दिरको गुठी जग्गामा यस वर्ष पनि परम्परागत विधिअनुसार धान रोपाइँ जेठ १९ गते सम्पन्न भएको छ।
धार्मिक आस्था, सामूहिक श्रम, सामाजिक एकता र सांस्कृतिक मौलिकताको अनुपम संगम मानिने यो रोपाइँ उत्सव हेर्न जिल्लाका विभिन्न स्थानसँगै टाढाटाढाबाट समेत श्रद्धालु तथा दर्शकहरू त्रिपुराकोट सेरामा भेला हुने गरेका छन्।
स्थानीय जनविश्वासअनुसार विसं १११४ सालतिरदेखि चलिआएको यो परम्परा आजसम्म निरन्तर जीवित छ। रोपाइँका दिन त्रिपुराकोट सेरा मेलामय बनेकाे छ।
खेतमा एकैसाथ १२ हल गोरु र १२ जना हली खटिने परम्परा रहेको छ भने विगारेहरूले खेतको हिलो सम्याउने काम गर्छन्। मन्दिरका सरोकारवाला, गुठियार तथा स्थानीयवासीहरूले भगवतीको नाममा सामूहिक श्रमदान गर्दै रोपाइँलाई धार्मिक अनुष्ठानका रूपमा सम्पन्न गरेका छन।
रोपाइँको मुख्य आकर्षण ‘पुल्ती हाल्ने’ संस्कार हो। बाजागाजासहित राष्ट्रिय झण्डालाई मन्दिरको गजुरको प्रतीकस्वरूप पुल्ती बनाएर खेतमा लगिन्छ।
याे वर्ष मन्दिरका मूल पुजारी तथा सेरा राेलक्रमवाला टंकप्रसाद उपाध्याय र बयाेबृद्द रविप्रसाद न्याैपानेलाई काँधमा बोकेर खेतको बीच भागमा पुर्याइएपछि हिलाे छ्यापाछ्याप गरेका थिए ।याे संगै पुल्ती रोप्ने विधि सम्पन्न भएकाे थियाे। त्यसपछि खेतभरि हिलो छ्यापाछ्यापको रमाइलो राेपाहारा लगायत युवाहरुले एकापसमा गरेका छन। रोपाहारहरूले भगवतीको स्तुतिमा मंगल गीत गाउँदै खेतलाई भक्तिभाव र उल्लासले भरिदिएका थिए।
मन्दिरको ५१ मुरी गुठी जग्गामा हुने यस रोपाइँबाट उत्पादन हुने प्रसिद्ध रातो मार्सी धान र जौ मन्दिरको पूजा–आजा, धार्मिक गतिविधि तथा मन्दिरमा आउने भक्तजनहरूको सेवामा प्रयोग गरिन्छ।
रोपाइँका दिन गुठीमै उत्पादन भएको रातो मार्सी चामलको भात प्रसादका रूपमा हली, रोपाहार र सहभागीहरूलाई खुवाउने गरिन्छ । साथै सेलरोटी पकाइने र रोपाइँ सम्पन्न भएपछि प्रत्येक घरधुरीमा प्रसाद बाँड्ने परम्परा समेत रहिआएको छ।
यो रोपाइँ केवल कृषि कर्म मात्र होइन, सामूहिक एकता, सामाजिक अनुशासन, धार्मिक सहिष्णुता, पारस्परिक सहयोग र भाइचाराको जीवन्त विद्यालय भएकाे पुजारी तथा स्थानीय देविकृष्ण उपाध्यायले बताए ।
पुस्तौँदेखि पुस्तौँमा हस्तान्तरण हुँदै आएको यस परम्पराले समुदायलाई एक सूत्रमा बाँध्ने महत्वपूर्ण भूमिका खेल्दै आएको बताउँछन् स्थानीय रविप्रसाद न्याैपाने ।

उनका अनुसार मन्दिरका राेखला सार्कीले पुजारी लगायत आआफ्ना लगिहरुलाई कांधमा चढाउने प्रचलन रहेपनि माओवादी जनयुद्ध पछि भने दलितले आफुलाई अपमानित गरेकाे महशुस गरेर कांध बाेक्न इन्कार गरेपछि पुजारी खलकबाटै कांध चढ्ने र चढाउने गरिन्छ ।
ऐतिहासिक तथा धार्मिक महत्व बोकेको श्रीबालात्रिपुरासुन्दरी योगमाया भगवती मन्दिर पश्चिम नेपालको प्राचीन शक्तिपीठहरूमध्ये एक मानिन्छ।
यहाँ प्रत्येक वर्ष बडादशैं, चैते दशैं तथा विभिन्न धार्मिक पर्वहरूमा हजारौँ भक्तजन दर्शनका लागि पुग्ने गर्दछन्। मन्दिरसँग जोडिएको गुठी व्यवस्था र सामूहिक श्रम संस्कृतिले डोल्पाको मौलिक सभ्यता र सांस्कृतिक सम्पदालाई आजसम्म जोगाइराखेको छ।
धानका बिरुवासँगै श्रद्धा, संस्कृति र एकताको बीउ रोपिने त्रिपुराकोट सेराको यो रोपाइँ उत्सव डोल्पाली पहिचानको एक अनुपम जीवित सम्पदा बनेर आज पनि निरन्तर अगाडि बढिरहेको छ।

डोल्पा न्यूज । १९ जेष्ठ २०८३, मंगलवार १९:१४