ताजा समाचार

डाेल्पामा सर्वदलीय बैठक:माैन अवधि कडाइले  पालना गर्ने सहमति तर भइरहेछ प्रचारप्रसार  

विष्णुप्रसाद देवकोटा

डोल्पा । फागुन २१ मा हुने  प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न डोल्पामा सर्वदलीय/सर्वपक्षीय बैठक सम्पन्न भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बसेको बैठकले निर्वाचन आचारसंहिता, मौन अवधि र मतपेटिका संकलन तथा सुरक्षा व्यवस्थासम्बन्धी महत्वपूर्ण निर्णयहरू गरेको छ।

बैठकले निर्वाचन मिति नजिकिँदै गर्दा लागू हुने मौन अवधिको इमान्दारितापूर्वक पालना गर्ने सर्वसम्मत निर्णय गरेको छ। मौन अवधिमा निर्वाचन आयोगद्वारा जारी आचारसंहिता, ऐन, नियम र निर्देशिकाको पूर्ण कार्यान्वयन गर्ने प्रतिबद्धता सबै दल तथा उम्मेदवारहरूले व्यक्त गरेका छन्।तर याे वा त्याे बहानामा डाेल्पामा चुनावी प्रचारप्रसार भने भइरहेछ ।

निर्वाचन ऐन, नियम वा निर्देशिका उल्लंघन भएमा प्रमाणसहित उजुरी परेमा कानुनबमोजिम कारबाही हुने पनि बैठकले स्पष्ट पारेको छ।

त्यसैगरी मतदान सम्पन्न भएपछि सबै मतदान केन्द्रबाट मतपेटिका सुरक्षित रूपमा संकलन गरी मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने, संकलन तथा ढुवानीका क्रममा सुरक्षा निकायको विशेष निगरानी रहने तथा राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थितिमा प्रक्रिया अघि बढाउने निर्णय गरिएको छ।

हेलिकोप्टरमार्फत मतपेटिका ढुवानी गर्नुपर्ने अवस्था आएमा सम्बन्धित मतदान अधिकृत र सुरक्षा अधिकारीबाहेक अन्य प्रतिनिधिलाई हेलिकोप्टरमा लैजाने व्यवस्था निर्वाचन आयोगबाट नभएको उल्लेख गरिएको छ। तर मतपेटिका राख्ने तथा संकलन गर्ने क्रममा उपस्थित प्रतिनिधिले मोबाइलमार्फत तस्बिर खिची अभिलेखीकरण गर्न सक्ने व्यवस्था रहने जनाइएको छ।

यसैबीच मतगणना निर्देशिका–२०८२ अनुसारको प्रक्रिया कडाइका साथ पालना गर्दै निष्पक्ष र पारदर्शी ढंगले मतगणना सम्पन्न गर्ने सहमति पनि बैठकले गरेको छ।

बैठकले जिल्लामा शान्तिपूर्ण र विश्वसनीय निर्वाचन सम्पन्न गर्न सबै पक्ष जिम्मेवार र संयमित बन्नुपर्नेमा जोड दिएको छ।बैठकमा मुख्य निर्वाचन अधिकृत चन्द्रदेव भारती, सहायक निर्वाचन अधिकृत  विदुरप्रसाद कोइराला, प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकाल, नेपाली सेनाका सेनानी हरिश शाही, नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक रुक बहादुर खड्का, सशस्त्र प्रहरीका नायव उपरीक्षक  दीपकराज भट्ट, प्रमुख अनुसन्धान अधिकृत सन्ताेष ओझा, निर्वाचन अधिकारी दिलकृष्ण श्रेष्ठ तथा सहायक प्रमुख जिल्ला अधिकारी रमेश पौडेलको सहभागिता रहेको थियो।

यसैगरी राजनीतिक दलतर्फबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रतिनिधि नरबहादुर बुढा,नेपाली कांग्रेसका प्रतिनिधि श्रीमती दुधकुमारी हमाल,  अर्णबहादुर न्यौपाने र कृष्णदत्त न्यौपाने, नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधि हंशबहादुर शाही र बबीकिशोर गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि डिल्ली  शाहीकाे सहभागीता  थियाे।त्यसैगरी स्वतन्त्र उम्मेदवार  ओमेन्द्र के.सी.सहभागी थिए ।

तपाईको प्रतिक्रिया