विष्णुप्रसाद देवकोटा
त्रिपुरासुन्दरी नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन तथा सम्पन्न गरेका स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा गर्दै आगामी वर्षका लागि स्वास्थ्य योजना तर्जुमा थालेको छ।
नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा दुईदिने वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी शुक्रबारदेखि सुरु भएको हो। गोष्ठी त्रिपुरासुन्दरी नगरपालिकाको कार्यालयमा शुक्रबार देखि सञ्चालन भइरहेको छ।
गोष्ठीमा नगरपालिकाअन्तर्गत गत आर्थिक वर्षमा सञ्चालित स्वास्थ्य कार्यक्रमको प्रगति, उपलब्धि, चुनौती तथा कार्यान्वयनका क्रममा देखिएका समस्यामाथि समीक्षा गरी आगामी वर्षका स्वास्थ्य कार्यक्रमलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भइरहेको छ।
कार्यक्रमको अध्यक्षता नगरपालिकाका उपप्रमुख देवी घर्तीले गरेकी छन्। कार्यक्रममा जिल्ला अस्पताल दुनैका डाक्टर अजय पाण्डे प्रमुख अतिथिका रूपमा सहभागी छन्। त्यस्तै स्वास्थ्य फोकल पर्सन गंगा ओझा, निमित्त प्रमुख प्रशासकीय अधिकृत थानेश्वर पनेरु, स्वास्थ्य संयोजक तुलबहादुर श्रेष्ठ, नगरपालिकाका ११ वटै वडाका वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूको सहभागिता रहेको छ।कार्यक्रमकाे पहिलाे दिनमा नगर क्षेत्रमा रहेका १२ स्वास्थ्य संस्थाहरु मध्येमा केहिले वार्षिक प्रगति विवरण तथा भावि याेजनाहरु सहितकाे प्रतिवेदन प्रस्तुत गरेका छन ।
कार्यक्रमको विषयवस्तु, महत्त्व र उद्देश्यबारे निमित्त प्रमुख प्रशासकीय अधिकृत पनेरुले प्रकाश पारेका थिए। उनले स्थानीय तहबाट प्रवाह हुने स्वास्थ्य सेवाको गुणस्तर सुधार, विगतका कार्यक्रमको समीक्षा र आगामी योजना आवश्यकता तथा प्राथमिकताका आधारमा तय गर्न समीक्षा गोष्ठी महत्त्वपूर्ण रहेको बताए।
नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख तुलबहादुर श्रेष्ठले दुईदिने कार्यक्रमको सञ्चालन गरिरहेका छन्। गोष्ठीमा स्वास्थ्य संस्थाबाट प्राप्त प्रगति विवरण, सेवा प्रवाहको अवस्था तथा आगामी कार्यक्रमका प्राथमिकतामाथि छलफल गरी आवश्यक योजना निर्माण गरिने जनाइएको छ।
नागरिक मार्फत दिगो पूर्वाधार, स्वच्छ सरसफाइ, सुशासनसहित समृद्ध नगर निर्माणको आधार’ भन्ने नगरपालिकाको मूल अवधारणालाई स्वास्थ्य क्षेत्रसँग जोड्दै नागरिकलाई प्रभावकारी, सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने दिशामा आगामी कार्यक्रम केन्द्रित गरिने स्वास्थ्य शाखाले जनाएको छ ।समीक्षा कार्यक्रम शनिवार सम्म संचालन भइ समापन हुने छ ।
स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा गर्दै त्रिपुरासुन्दरीले बनाउँदैछ नयाँ योजना
तपाईको प्रतिक्रिया

डोल्पा न्यूज । २९ श्रावण २०८३, शुक्रबार १८:०३