ताजा समाचार

त्रिपुरासुन्दरीका विद्यालय र स्वास्थ्य संस्थालाई घडी, पात्रो र फ्लेक्स ब्यानर वितरण

डोल्पा, असार १२ – डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाभित्रका सामुदायिक विद्यालय र स्वास्थ्य संस्थालाई समय व्यवस्थापन तथा स्वास्थ्य सचेतना प्रवर्द्धन गर्ने उद्देश्यले घडी, भित्ते पात्रो र फ्लेक्स ब्यानर वितरण गरिएको छ।
कान्ति बाल अस्पतालमा कार्यरत वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ प्रा. डा. रोमा बाेराकाे सहयोग तथा त्रिपुरासुन्दरी नगरपालिकाकी उपप्रमुख देवी घर्तीको पहलमा नगरपालिकाभित्रका २९ वटा विद्यालय र ५ वटा स्वास्थ्य संस्थालाई एक–एक थान भित्ते घडी, भित्ते पात्रो तथा कान्ति बाल अस्पतालका फ्लेक्स ब्यानर उपलब्ध गराइएको हो।

वडा नं. १ को कार्यालयमा आयोजित विशेष कार्यक्रममा उपप्रमुख घर्तीले त्रिपुरा माध्यमिक विद्यालय काटियाचौरका प्रधानाध्यापक तुलबहादुर विष्ट र त्रिपुरासुन्दरी स्वास्थ्य चौकीका जनस्वास्थ्य अधिकृत सुजन कठायतलाई प्रतीकात्मक रूपमा सामग्री हस्तान्तरण गरिन्।
कार्यक्रममा उपप्रमुख घर्तीले विद्यालयमा समय अनुशासनको संस्कार विकास गर्दै विद्यार्थी र शिक्षकलाई समयको महत्वबारे थप सचेत बनाउन घडी वितरण गरिएको बताइन्। साथै, स्वास्थ्य संस्थामार्फत बाल स्वास्थ्य सेवाबारे समुदायमा जानकारी विस्तार गर्न र कान्ति बाल अस्पतालसँगको समन्वयलाई सुदृढ बनाउन फ्लेक्स ब्यानर तथा पात्रो वितरण गरिएको उनको भनाइ थियो।
नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै विभिन्न साझेदारी कार्यक्रम सञ्चालन गरिरहेको अवस्थामा यस प्रकारको सहयोगले विद्यालय र स्वास्थ्य संस्थाको सेवा प्रवाहमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

तपाईको प्रतिक्रिया