ताजा समाचार

डोल्पाकाे त्रिपुरासुन्दरीबाट  ३५ क्विन्टल जडीबुटीसहित ४ जना पक्राउ

विष्णुप्रसाद देवकोटा

डोल्पा । त्रिपुरासुन्दरी नगरपालिकामा अवैध रूपमा संकलन गरिएको ठूलो परिमाणको जडीबुटीसहित चार जना व्यक्तिलाई नियन्त्रणमा लिएर शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज प्रशासनलाई बुझाइएको छ।

२०८२ चैत ८ गते राति करिब ९ बजे सुरु भएको संयुक्त गस्ती टोलीले चैत ९ गते बिहान ३:३० बजे त्रिपुरासुन्दरी नगरपालिका–१, त्रिपुराकोट क्षेत्रमा छापा मार्दै करिब ३५ क्विन्टल (१०१ बोरा) पदमचाल जडीबुटी र दुईवटा ट्र्याक्टर नियन्त्रणमा लिएको हो।

श्री संग्राम सार्दुल गुल्मका उपसेनानी सुशील दाहालको कमाण्डमा नेपाली सेना र निकुञ्ज प्रशासन कार्यालयका सिनियर गेम स्काउटको संयुक्त टोलीले उक्त कारबाही गरेको हो।

पक्राउ पर्नेमा त्रिपुरासुन्दरी–५ का ३६ वर्षीय नरेश बुढा, सल्यान कुमाख गाउँपालिका–४ का २५ वर्षीय एलिश बुढा (चालक), रुकुम पश्चिम आठबिस नगरपालिका–७ का ४८ वर्षीय कृष्ण बि.क. (चालक) तथा त्रिपुरासुन्दरी–५ का ३३ वर्षीय विकास रोकाया रहेका छन्।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि दोहोरो भरपाइसहित निकुञ्ज प्रशासन कार्यालयमा बुझाइएको श्री संग्राम सार्दुल गुल्मका सेनानी हरिश शाहीले बताए। पक्राउ परेका व्यक्तिहरूलाई स्वास्थ्य परीक्षणका लागि जिल्ला अस्पताल दुनै लगिएको र हाल बरामद जडीबुटी निकुञ्जको नियन्त्रणमा रहेको जनाइएको छ।

शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयका सहायक संरक्षण अधिकृत विज्ञान सेनका अनुसार निकुञ्ज क्षेत्रबाट अनुमति नलिई जडीबुटी संकलन गरी रातारात जिल्ला बाहिर निकासी गर्न लागिएको सूचनाका आधारमा संयुक्त गस्ती परिचालन गरिएको थियो।

उनले पछिल्लो समय डोल्पामा जठामसी (भुल्ते) संकलनमा प्रतिबन्ध लगाइएको र पदमचालको हकमा समेत कार्ययोजना अध्ययनपछि मात्र उपयुक्त क्षेत्र पहिचान गरी अनुमति दिइने व्यवस्था रहेको बताए।

तपाईको प्रतिक्रिया