ताजा समाचार

डाेल्पामा सहिद नन्द प्रसाद न्यौपानेको अर्धकद शालिक अनावरण

विष्णुप्रसाद देवकोटा

त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटस्थित बगरबजारमा सहिद नन्द प्रसाद न्यौपानेको अर्धकद शालिक एक भावुक तथा गरिमामय कार्यक्रमबीच अनावरण गरिएको छ। शालिकको अनावरण सहिदकी ममतामयी आमा रम्मादेवी न्यौपानेले गर्दै छोराको सम्झनामा श्रद्धाञ्जली अर्पण गरिन्।

वि.सं. २०२५ साल मंसिर ६ गते साविक त्रिपुराकोट गाविस (हाल त्रिपुरासुन्दरी–१) मा जन्मेका न्यौपाने २९ वर्षको उमेरमै सहिद भएका थिए। तत्कालीन माओवादीले सञ्चालन गरेको जनयुद्धका क्रममा भूमिगत अवस्थामा रहेका उनलाई २०५५ साल वैशाख १४ गते जाजरकोट जिल्ला रग्दा–४ रावत गाउँबाट इलाका प्रहरी कार्यालय रग्दाको सुरक्षागस्ती टोलीले गिरफ्तार गरेको थियो।

प्रहरी नियन्त्रणमै रहेका बेला २०५५ वैशाख २१ गते जाजरकोट र पश्चिम रुकुमको सिमाना क्षेत्र रिम्नामा भेरी नदीमा उनको शव फेला परेको थियो।

कार्यक्रमकी अध्यक्ष तथा सहिद न्यौपानेकी पत्नी खुमा सुवेदी (न्यौपाने) ले सहिदले देखाएको पदचापलाई पछ्याउँदै समाज रूपान्तरणको यात्रामा अघि बढ्नुपर्ने धारणा राखिन्।

उनले सहिदको नाममा कसैले गडबडी वा बदमासी गरे त्यसविरुद्ध खबरदारी गर्दै सतिसालझैं अडिग भएर उभिने प्रतिबद्धता व्यक्त गरिन्। शालिक निर्माणदेखि विभिन्न चरणमा सहयोग पुर्‍याउने सहयोगी मनहरूलाई उनले विशेष आभार पनि प्रकट गरिन्।

तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल  (प्रचण्ड) नेतृत्वको सरकारको समयमा वि.सं. २०८० फागुन १५ गते नन्द प्रसाद न्यौपानेलाई सहिद घोषणा गरिएको थियो भने फागुन २८ गते राजपत्रमा नाम प्रकाशन भएको थियो।

पुरानो शालिक जीर्ण र भग्नावशेषमा परिणत भएसँगै सोही स्थानमा नयाँ अर्धकद शालिक स्थापना गरी अनावरण गरिएको हो। स्थानीयवासी, राजनीतिक दलका प्रतिनिधि तथा शुभेच्छुकहरूको उल्लेख्य उपस्थितिमा सम्पन्न कार्यक्रममा सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको योगदानलाई स्मरण गरिएको थियो।

नयाँ शालिकले त्रिपुराकोट बगरबजारलाई केवल सौन्दर्य थपेको छैन, यसले एक युवाको बलिदान, संघर्ष र इतिहासको साक्षी बनेर भावी पुस्तालाई प्रेरणा दिने विश्वास व्यक्त गरिएको छ।

तपाईको प्रतिक्रिया