विष्णुप्रसाद देवकोटा
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका नगरप्रमुख जनचन्द्र रोकायाका कान्छा छोरा प्रशान्त रोकाया नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेको भन्दै सार्वजनिक गरिएको समाचारप्रति सम्बन्धित पक्षले आपत्ति जनाएको छ। उनीहरूले उक्त दाबीलाई “भ्रामक र अतिरञ्जित प्रचार” भनेका छन्।
नेकपाले सार्वजनिक गरेको विवरणअनुसार प्रशान्त रोकाया र विष्णु रोकायालाई सदरमुकाम दुनैमा आयोजित कार्यक्रममा नेकपाका उम्मेदवार तथा पूर्व मन्त्री धनबहादुर बुढाले खादा र अबिर लगाएर स्वागत गरेका थिए।सोही तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि नगरप्रमुखकै घरबाट प्रतिस्पर्धी धार रोजिएको चर्चा चुलिएको थियो।
तर, पार्टी प्रवेश सार्वजनिक भएको चार घण्टा नबित्दै कथित रूपमा प्रवेश गरेका भनिएका विश्व क्षेत्रीले सामाजिक सञ्जालमार्फत उक्त दाबी अस्वीकार गरेका छन्।
उनले आफूहरू चिया खान होटलमा बसेको अवस्थामा नेकपाका उम्मेदवारले एक्कासि राईका लगाइदिएको र सोही क्रममा खिचिएको तस्बिरलाई पार्टी प्रवेशको रूपमा प्रचार गरिएको बताएका छन।
म र मेराे भाई “पहिले पनि एमाले, अहिले पनि एमालेमै छौं,” उनले लेखेका छन्। तस्बिरको दुरुपयोग गरी चुनावी माहोल विथोल्ने प्रयास भएको उनको दाबी छ।
२०७९ को स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)बाट निर्वाचित नगरप्रमुख जनचन्द्र रोकायाले पनि विषयबारे वास्तविकता बुझेर सार्वजनिक गर्ने बताएका थिए।
निर्वाचनको मुखमा आएको यो प्रकरणले सूचनाको विश्वसनीयता र चुनावी प्रचारका शैलीमाथि प्रश्न उठाएको छ। एकातर्फ प्रवेशको औपचारिक दाबी गरिएको छ भने अर्कोतर्फ सम्बन्धित पक्षले त्यसलाई स्पष्ट रूपमा अस्वीकार गरेको छ।

डोल्पा न्यूज । ८ फाल्गुन २०८२, शुक्रबार १३:२१