ताजा समाचार
बीमित नागरिक औषधि सेवाबाट वञ्चित, जिल्ला अस्पतालले स-शुल्क प्रणाली लागू गर्‍यो

स्वास्थ्य बीमा बोर्डको भुक्तानी नआउँदा डोल्पा अस्पताल संकटमा

विष्णुप्रसाद देवकोटा
डोल्पा — दुर्गम हिमाली जिल्ला डोल्पामा स्वास्थ्य बीमा कार्यक्रम प्रभावहीन बन्दै गएको छ । स्वास्थ्य बीमा बोर्डबाट लामो समयसम्म भुक्तानी प्राप्त नभएपछि जिल्ला अस्पताल डोल्पाले बीमाअन्तर्गत प्रदान गर्दै आएको औषधि तथा औषधिजन्य सामग्री सेवा अनिश्चितकालका लागि स्थगित गरेको छ ।
स्वास्थ्य सेवा कार्यालय मातहत रहेको जिल्ला अस्पताल डोल्पाले गत वैशाख १६ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गतका औषधि सेवा बन्द गरेको हो । अस्पताल प्रशासनका अनुसार आर्थिक वर्ष २०८२/८३ भरि स्वास्थ्य बीमामार्फत प्रदान गरिएका प्रयोगशाला सेवा, एक्स–रे, दन्त, आँखा उपचार, औषधि तथा अन्य सेवाको रकम हालसम्म स्वास्थ्य बीमा बोर्डबाट भुक्तानी नआएपछि अस्पताल गम्भीर आर्थिक दबाबमा परेको छ ।
अस्पतालले सार्वजनिक गरेको सूचनामा नियमित स्वास्थ्य सेवा सञ्चालनमै असर पर्ने अवस्था सिर्जना भएकाले अर्को सूचना जारी नभएसम्म अस्पताल फार्मेसीबाट स-शुल्क औषधि वितरण गर्ने निर्णय गरिएको उल्लेख छ ।
निमित्त स्वास्थ्य व्यवस्थापक डा. सिजन रावलका अनुसार बीमा बोर्डबाट समयमै भुक्तानी नहुँदा अस्पतालको औषधि खरिद, सेवा व्यवस्थापन तथा दैनिक सञ्चालन प्रभावित भएको छ । “आर्थिक भार अत्यधिक बढेपछि सेवा निरन्तरता दिन कठिन भएको हो,” उनले बताएका छन् ।
जिल्ला अस्पतालले बीमा सेवा स्थगित गरेसँगै स्वास्थ्य बीमामा आबद्ध हजारौं नागरिक प्रत्यक्ष प्रभावित हुने भएका छन् । विशेषगरी न्यून आय भएका, दुर्गम बस्तीका र नियमित औषधि सेवन गर्नुपर्ने बिरामीहरू सबैभन्दा बढी मारमा पर्ने देखिएको छ ।
सरकारले “सर्वसुलभ स्वास्थ्य सेवा” को नारासहित देशभर स्वास्थ्य बीमा कार्यक्रम विस्तार गरिरहेको बेला डोल्पाजस्तो दुर्गम जिल्लामा भने भुक्तानी अभावकै कारण सेवा बन्द हुनु स्वास्थ्य प्रणालीकै प्रभावकारितामाथि प्रश्न उठ्ने विषय बनेको छ ।
स्थानीय नागरिकहरूले स्वास्थ्य बीमा बोर्ड र सम्बन्धित निकायलाई तत्काल बक्यौता भुक्तानी गरी सेवा पुनः सञ्चालन गर्न माग गरेका छन् ।

तपाईको प्रतिक्रिया