ताजा समाचार

गैरीगाउँका बाढीपीडितलाई विभिन्न संस्थाकाे सहयाेग, पुनःस्थापनामा जोड

विष्णुप्रसाद देवकोटा 
डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा आइतबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि राहत सहयोग जुट्ने क्रम तीव्र बनेको छ। जिल्ला विपद् कमाण्ड पोस्ट, जगदुल्ला गाउँपालिका, जगदुल्ला हाइड्रोपावर कम्पनी, नेपाल बैंक र विभिन्न संघसंस्थाले खाद्यान्न, लत्ताकपडा, त्रिपाल तथा नगद राहत उपलब्ध गराउँदै पीडितको तत्काल उद्धार र पुनःस्थापनामा सहयोग गरेका छन्।
जिल्ला विपद् कमाण्ड पोस्टमार्फत उद्योग वाणिज्य संघ, नेपाल रेडक्रस सोसाइटी र जिल्ला आपतकालीन सञ्चालन केन्द्रको समन्वयमा संकलित राहत सामग्री प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले जगदुल्ला गाउँपालिकाका अध्यक्ष नारासिंह रोकायालाई हस्तान्तरण गरेकी हुन्। गाउँपालिकाले सोमबारदेखि प्रभावित परिवारलाई उक्त राहत वितरण गर्ने जनाएको छ।
हस्तान्तरण गरिएको राहतमा २५ थान त्रिपाल, ५ बोरा चिउरा, १ बोरा भुजा, ६ कार्टुन चाउचाउ, २ कार्टुन बिस्कुट, १० थान कम्बल, ६ थान बाल्टिन, ८ थान जग, २२ थान शाल, ५ थान डेग्ची, १ थान पाल, १५ थान पाइन्ट, ३० थान बालबालिकाका सर्ट–पाइन्ट, १५ थान महिला स्वेटर, १६ जोर जुत्ता, ५० जोर चप्पल तथा नगद ४२ हजार ५ सय १५ रुपैयाँ रहेको छ।
यसअघि नै जगदुल्ला गाउँपालिकाले आफ्नै स्रोतबाट बाढीपीडितका लागि ४ लाख ६० हजार रुपैयाँ राहत वितरण गरिसकेको छ। गाउँपालिका अध्यक्ष नारासिंह रोकायाका अनुसार पूर्ण रूपमा विस्थापित ७ घरधुरीलाई प्रतिघरधुरी ३० हजार रुपैयाँका दरले २ लाख ४० हजार रुपैयाँ र आंशिक क्षति व्यहोरेका १९ घरधुरीलाई प्रतिघरधुरी १० हजार रुपैयाँका दरले १ लाख ९० हजार रुपैयाँ वितरण गरिएको छ। बाढीमा ज्यान गुमाएकी आनन्दी विकको परिवारलाई थप ५० हजार रुपैयाँ राहत उपलब्ध गराइएको छ।
यसैबीच, जगदुल्ला हाइड्रोपावर कम्पनीले पनि बाढीपीडितका लागि करिब १ लाख ७० हजार रुपैयाँ बराबरको खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री हस्तान्तरण गरेको छ। कम्पनीका प्राविधिक रामचन्द्र बस्नेत (भास्कर)का अनुसार ३४ बोरा चामल, १०२ पोका खाने तेल र ३४ पेटी चाउचाउ प्रभावित परिवारलाई उपलब्ध गराइएको हो।
त्यसैगरी नेपाल बैंक जगदुल्ला शाखा तथा जिल्ला विपद् कमाण्ड पोस्टबाट समेत खाद्यान्न, लत्ताकपडा, त्रिपाललगायत आवश्यक सामग्री राहतस्वरूप वितरण गरिएको छ। विभिन्न सरकारी तथा निजी क्षेत्रबाट राहत जुट्ने क्रम अझै जारी रहेको जनाइएको छ।
गाउँपालिकाका अनुसार बाढीबाट ३५ घरधुरी प्रभावित भएका छन् भने ७ घरधुरी पूर्ण रूपमा विस्थापित भएका छन्। हाल प्रभावित परिवारलाई आफन्तका घरमा अस्थायी रूपमा बसोबासको व्यवस्था मिलाइएको छ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका डीएसपी अनिलराज गिरीका अनुसार बाढीबाट करिब ७० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण संकलन गरिएको छ। लगातारको वर्षापछि धुलाखोला र आसपासका खोल्सामा आएको हिलोसहितको बाढी गाउँमा पस्दा घर, अन्नपात, लत्ताकपडा तथा अन्य सम्पत्तिमा व्यापक क्षति पुगेको थियो।

गाउँपालिका अध्यक्ष नारासिंह रोकायाले तत्काल राहत वितरणसँगै प्रभावित परिवारको पुनःस्थापना, सुरक्षित आवास व्यवस्थापन र पुनर्निर्माणलाई प्राथमिकताका साथ अघि बढाइएको बताए। उनले विपद्को यस घडीमा सहयोग गर्ने सरकारी निकाय, निजी क्षेत्र, बैंक तथा सामाजिक संघसंस्थाप्रति आभार व्यक्त गर्दै आवश्यक सहयोग निरन्तर रहने विश्वास व्यक्त गरे।

तपाईको प्रतिक्रिया