ताजा समाचार

डाेल्पाकाे जगदुल्लामा जेष्ठ २ गते नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन हुने

डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका–५ माझगाउँमा आगामी जेष्ठ २ गते नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ। स्थानीय बासिन्दालाई सहज रूपमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले “नि:शुल्क स्वास्थ्य शिविर–२०८३” आयोजना गर्न लागिएको हो।
शिविरको आयोजना डोल्पास्थित श्री संग्राम शार्दूल गुल्मले विभिन्न कार्यालयहरूसँगको समन्वय तथा सहकार्यमा गर्न लागेको जनाएको छ। शिविर बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ।
शिविरमा नेपाली सेना र जिल्ला अस्पताल दुनैका अनुभवी चिकित्सकद्वारा स्वास्थ्य परीक्षण गरिनेछ। उच्च रक्तचाप, ग्यास्ट्रिक, दम, स्त्री रोग तथा आँखा सम्बन्धी रोगहरूको जाँच गरिनुका साथै आवश्यक पर्ने बिरामीलाई नि:शुल्क औषधि पनि वितरण गरिने श्री संग्राम शार्दूल गुल्म सुलिगाडका सेनानी हरिश शाहीले जानकारी दिए ।
शिविर सञ्चालनका लागि जिल्ला अस्पताल डोल्पा, जगदुल्ला गाउँपालिका कार्यालय माझगाउँ, जगदुल्ला जलविद्युत आयोजना तथा शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले सहकार्य गरेका छन्।
आयोजकले स्वास्थ्य समस्याबाट पीडित स्थानीय बासिन्दालाई शिविरमा उपस्थित भई सेवा लिन अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया