विष्णुप्रसाद देवकोटा
डाेल्पा ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी डोल्पाले जिल्लाको समग्र विकासका लागि तयार पारिएको प्रतिबद्धता तथा कार्यक्रम सार्वजनिक गरेको छ। उक्त प्रतिबद्धता प्रतिनिधिसभा सदस्यका उम्मेदवार लंकबहादुर रोकायाले प्रगतिशील लाेकतान्त्रिक(प्रलोपा) का विकास बुढाको उपस्थितिमा संयुक्त रूपमा त्रिपुराकाेटमा विशेष कार्यक्रम गरेर सार्वजनिक गरेका हुन्।
समान पहुँच, उत्तरदायित्व र सहभागितामूलक विकासलाई आधार मानेर पूर्वाधार, कृषि, पर्यटन, जलविद्युत र पशुपालन क्षेत्रलाई प्राथमिकतामा राखिएको जनाइएको छ।
डोल्पाका सीमा नाकालाई औपचारिक रूपमा सञ्चालनमा ल्याउने, स्थानीय तहहरूमा भूगोलअनुसार सामूहिक कृषि तथा पशुपालन फार्म स्थापना गर्ने तथा धार्मिक र पुरातात्विक सम्पदाको संरक्षण तथा प्रवर्द्धनका लागि स्थायी नीति तथा कानुन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
त्रिदेशीय सडक सञ्जाल सुदृढीकरण र विस्तार, उपत्यकालाई व्यवस्थित सहरका रूपमा विकास तथा आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धनमार्फत जिल्लालाई पर्यटन केन्द्रका रूपमा स्थापित गर्ने योजना अघि सारिएको छ। पर्यटनबाट संकलित राजस्वको कम्तीमा पचास प्रतिशत पर्यटन क्षेत्रकै विकासमा लगानी गर्ने पहल गरिने उल्लेख गरिएको छ।
कृषि क्षेत्रअन्तर्गत स्याउ, ओखर, अंगुर, जडीबुटी लगायतका नगदे बालीको उत्पादन विस्तार गरी स्वरोजगार सिर्जना गर्ने, सौर्य ऊर्जामार्फत विद्युत पहुँच विस्तार गर्ने तथा सार्वजनिक जग्गामा सामूहिक व्यवसाय सञ्चालन गर्ने नीति ल्याइने जनाइएको छ।
सदरमुकामबासीले लामो समयदेखि भोग्दै आएको विद्युत समस्याको स्थायी समाधानका लागि विशेष योजना अघि सारिएको छ। उम्मेदवार रोकायाले दुनैस्थित जैरिगाड जलविद्युत आयोजनाको दिगो र प्रभावकारी व्यवस्थापनमार्फत सदरमुकामको विद्युत आपूर्ति समस्या समाधान गर्न स्थायी उपाय खोजिने स्पष्ट पारे।

कृषिमा आत्मनिर्भरता हासिल गर्न अर्गानिक खेती प्रवर्द्धन, सिँचाइ प्रणाली विकास, उन्नत बीउबिजन तथा प्राविधिक सहयोग उपलब्ध गराइनेछ। व्यावसायिक पशुपालनतर्फ चौरी, च्याङ्ग्रा, बाख्रा, भेडा, घोडा र गाई पालनलाई अनुदान तथा बीमा कार्यक्रममार्फत प्रोत्साहन गरिने बताइएको छ।
शिक्षा, स्वास्थ्य र पर्यटनलाई विशेष प्राथमिकतामा राख्दै पूर्वाधार विकासमार्फत डोल्पाको आर्थिक रूपान्तरण गर्ने लक्ष्यका साथ संयुक्त रूपमा प्रतिबद्धता सार्वजनिक गरिएको हो।

डोल्पा न्यूज । ७ फाल्गुन २०८२, बिहीबार १८:३०