विष्णुप्रसाद देवकोटा
डोल्पा । दुर्गम हिमाली जिल्ला डोल्पाको मुड्केचुला गाउँपालिकाले गाउँ प्रहरी भर्ना गरेको छ।
गाउँपालिकाले गाउँ प्रहरी जवान (पुरुष) र गाउँ प्रहरी जवान (महिला) पदमा छनोट भएका उम्मेदवारको नाम सार्वजनिक गर्दै नियुक्तिका लागि सिफारिस गरेको हो।
गाउँ प्रहरी व्यवस्थापन कार्यविधि, २०७९ को प्रथम संशोधन २०८३ बमोजिम गाउँपालिकाले सञ्चालन गरेको स्वास्थ्य परीक्षण, शारीरिक तन्दुरुस्ती, लिखित परीक्षा तथा अन्तर्वार्ताको कुल प्राप्ताङ्कका आधारमा योग्यताक्रम कायम गरी चार जना उम्मेदवारलाई नियुक्तिका लागि सिफारिस गरेको जनाएको छ।
गाउँ प्रहरी जवान (पुरुष) पदमा मुड्केचुला गाउँपालिका–८ का धिराज बुढा र मुड्केचुला–७ का निर्मल बुढामगर सिफारिस भएका छन्। वैकल्पिक उम्मेदवारमा मुड्केचुला–५ का हिमराज रोकाया र मुड्केचुला–६ का रूपचन्द्र बोहोरा रहेका छन्।
त्यस्तै, गाउँ प्रहरी जवान (महिला) पदमा मुड्केचुला–९ की करुणा बुढा र मुड्केचुला–५ की सुरेशा रोकाया सिफारिस भएका छन्। वैकल्पिकतर्फ मुड्केचुला–९ की आयुष्मा बोहोरालाई राखिएको छ।
गाउँपालिकाले २०८३ साउन ५ गते अन्तर्वार्ता सञ्चालन गरेको थियो। अन्तर्वार्तामा उपस्थित उम्मेदवारहरूको अन्तर्वार्तासहितको कुल प्राप्ताङ्कका आधारमा योग्यताक्रम निर्धारण गरी नियुक्तिका लागि सिफारिस गरिएको हो।
मुड्केचुला गाउँपालिकाको प्रशासन शाखाका बामदेव जोशी गाउँ प्रहरी पदपूर्ति सदस्य अस्थायी प्रहरी पोस्ट, नर्कुका इन्चार्ज टेकबहादुर बि.क.र पदपूर्ति संयोजक दुर्गाप्रसाद रिजालले प्रमाणित गरी सार्वजनिक गरिएकाे सुचनामा उल्लेख छ ।
गाउँपालिकाले दुर्गम हिमाली क्षेत्रको स्थानीय सुरक्षा व्यवस्थापनलाई थप व्यवस्थित बनाउने उद्देश्यसहित गाउँ प्रहरी जनशक्ति परिचालनको प्रक्रिया अघि बढाएको हो।
नेपालको दुर्गम हिमाली भूगोलमा रहेको स्थानीय तहले समेत गाउँ प्रहरी भर्ना गरी जनशक्ति व्यवस्थापन थालेपछि स्थानीय सुरक्षा संयन्त्रलाई संस्थागत गर्ने प्रयासका रूपमा यसलाई लिइएकाे छ।

डोल्पा न्यूज । ५ श्रावण २०८३, मंगलवार १८:१८