ताजा समाचार

सांसददेखि पालिकासम्मको एउटै आवाज : मोरिम्ला–क्याटो नाका तत्काल खोल

विष्णुप्रसाद देवकोटा
डोल्पा।चीनसँग जोडिएका डोल्पाका मोरिम्ला र क्याटो व्यापारिक नाका तत्काल सञ्चालनमा ल्याउन संघीय संसददेखि स्थानीय तहसम्म एकै स्वरमा दबाब बढेको छ। प्रतिनिधिसभामा डोल्पाका सांसद धनबहादुर बुढाले सरकारको ध्यानाकर्षण गराएका छन् भने काइके गाउँपालिकाले प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई औपचारिक पत्र पठाउँदै तत्काल आवश्यक पहल गर्न आग्रह गरेको छ।
प्रतिनिधिसभाको बैठकमा सांसद बुढाले हरेक वर्ष श्रावणको मध्यदेखि भदौको मध्यसम्म सञ्चालन हुने नेपाल–चीन सीमावर्ती व्यापारिक मेला यस वर्ष सञ्चालन हुन नसक्दा माथिल्लो डोल्पाको जनजीवन, व्यापार र स्थानीय अर्थतन्त्र प्रभावित भएको बताए। उनले चीन सरकारसँग तत्काल कूटनीतिक पहल गरी मोरिम्ला र क्याटो नाका खुलाउने वातावरण बनाउन सरकारसँग माग गरे।
उनले छार्का ताङसोङ, डोल्पोबुद्ध र शे–फोक्सुण्डो गाउँपालिकाका एक हजारभन्दा बढी घरधुरीको दैनिकी यी नाकासँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै नाका बन्द हुँदा खाद्यान्न आपूर्ति, व्यापार, रोजगारी र स्थानीय अर्थतन्त्रमा गम्भीर असर परेको बताए। साथै मोरिम्ला र क्याटो नाकालाई नियमित सञ्चालनमा ल्याउनुका साथै स्थायी भन्सार कार्यालय स्थापना तथा तिन्जे र निजालामा सीमा सुरक्षा (बीओपी) र आवश्यक प्रशासनिक संरचना स्थापना गर्न पनि उनले माग गरे।
यता, काइके गाउँपालिकाले प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गर्दै पठाएको पत्रमा नेपाल–चीनबीचको ऐतिहासिक मैत्रीपूर्ण सम्बन्ध र दशकौँदेखि सञ्चालन हुँदै आएको सीमापार व्यापारलाई निरन्तरता दिन विशेष पहल आवश्यक रहेको उल्लेख गरेको छ।
पत्रमा मोरिम्ला र क्याटो नाका लामो समयदेखि बन्द हुँदा सीमावर्ती नागरिकले दैनिक उपभोग्य वस्तुको आपूर्ति, व्यापार–व्यवसाय, जीविकोपार्जन तथा स्थानीय आर्थिक गतिविधिमा गम्भीर समस्या भोग्नुपरेको उल्लेख गर्दै चीन सरकारका सम्बन्धित निकाय र नेपाल सरकारबीच आवश्यक समन्वय गरी नाका तत्काल सञ्चालनको वातावरण बनाउन आग्रह गरिएको छ।
काइके गाउँपालिका अध्यक्ष अंगदकुमार रानाले मोरिम्ला र क्याटो नाका केवल व्यापारको विषय नभई हिमाली नागरिकको जीवनसँग जोडिएको आधार भएको बताए।
“मोरिम्ला र क्याटो नाका बन्द हुँदा स्थानीय नागरिकको दैनिक जीवन, खाद्यान्न आपूर्ति, व्यापार–व्यवसाय र समग्र आर्थिक गतिविधि प्रभावित भएका छन्। त्यसैले गाउँपालिकाले औपचारिक रूपमा सरकारको ध्यानाकर्षण गराएको हो। स्थानीयको सहज जीवनयापनका लागि सरकारले तत्काल कूटनीतिक पहल गरी नाका सञ्चालनको वातावरण बनाउनुपर्छ,” अध्यक्ष रानाले भने।
सांसदको संसदभित्रको आवाज र स्थानीय सरकारको औपचारिक पत्रले मोरिम्ला र क्याटो नाका सञ्चालनको विषय अब केवल स्थानीय मागमा सीमित नरही संघीय सरकारका लागि तत्काल सम्बोधन गर्नुपर्ने प्राथमिक एजेन्डाका रूपमा अघि आएको देखिन्छ। सीमावर्ती बासिन्दाले पनि वर्षौंदेखि निर्भर रहँदै आएको व्यापारिक मार्ग पुनः सञ्चालन गरेर माथिल्लो डोल्पाको जनजीवन सहज बनाउन सरकारबाट शीघ्र निर्णयको अपेक्षा गरेका छन्।

तपाईको प्रतिक्रिया