ताजा समाचार

डाेल्पाका दुर्गम बस्तीमै न्याय सेवा पुर्‍याउन  मेलमिलाप तालिम 

विष्णुप्रसाद देवकोटा

कानुनी सचेतनाको अभाव झेलिरहेका दुर्गम बस्तीका नागरिकलाई घरआगनमै न्यायिक सेवा उपलब्ध गराउने उद्देश्यसहित डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा मेलमिलाप सम्बन्धी आधारभूत तालिम सुरु भएको छ।

चैत ११ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने ४८ घण्टे तालिम नगरपालिकाको न्यायिक समितिको आयोजनामा भइरहेको हो। तालिममा नगरका ११ वटै वडाबाट ८ महिला र १४ पुरुष गरी २२ जना सहभागि छन्।

न्यायिक समिति संयोजक तथा उपमेयर देवी घर्तीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा नगरप्रमुख जनचन्द्र रोकायाले गाउँटोलमा हुने सानातिना विवाद वडास्तरमै मेलमिलापमार्फत समाधान गर्नुपर्ने आवश्यकता औंल्याए। उनले मेलमिलापकर्तामार्फत सामाजिक विभेद र विवाद न्यूनीकरण हुँदै शान्तिपूर्ण समाज निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

उपमेयर घर्तीले साना मुद्दाका लागि असहाय, अशक्त तथा ज्येष्ठ नागरिकलाई नगरसम्म धाउनुपर्ने बाध्यता अन्त्य गर्न तालिम प्रभावकारी हुने बताइन्। उनका अनुसार मेलमिलापकर्ताले गाउँमै सहजीकरण गरी विवाद समाधान गर्ने वातावरण निर्माण गर्नु कार्यक्रमको मुख्य उद्देश्य हो।

प्रमुख प्रशासकीय अधिकृत थानेश्वर पनेरुले गाउँघरमा हुने साना–ठूला घटनाको सूक्ष्म अध्ययन गर्दै कानुनी दायराभित्र रही मेलमिलापमार्फत समाधान गर्ने क्षमता विकास गर्न तालिम आयोजना गरिएको बताए। उनले तालिमबाट हासिल ज्ञान व्यवहारमा उतारिनेमा विश्वास व्यक्त गरे।

अधिवक्ता इमानबहादुर सुनारले स्थानीय सरकार सञ्चालन ऐनअनुसारको क्षेत्राधिकार, मेलमिलाप प्रक्रिया र कार्यान्वयनका विषयमा प्रशिक्षण दिइने जानकारी दिए।

पाँच दिनसम्म सञ्चालन हुने तालिममा कानुनी अवस्था, विवाद व्यवस्थापन, सहजीकरण सीप तथा व्यवहारिक अभ्याससमेत समेटिएको छ। उद्घाटन सत्रको सञ्चालन टविन कार्कीले गरेका थिए।

तपाईको प्रतिक्रिया