डोल्पामा अशिक्षा छ, अन्धविश्वास छ, र समाजमा विभिन्न विकृति–विसंगतिहरू पनि देखिन्छन्। तर यी कमजोरीहरू डोल्पाली जनताको स्वभाविक पहिचान होइनन्। दुःखको कुरा के हो भने, यिनै कमजोरीलाई यहाँ सक्रिय केही राजनीतिक दल र नेताहरूले आफ्नै स्वार्थ पूर्ति गर्ने माध्यमका रूपमा प्रयोग गर्दै आएका छन्।
डोल्पाका मानिसहरू सोझा र सरल छन्। तर उनीहरू विवेकविहीन छैनन्। आफ्नो बुझाइ, अनुभव र परिस्थितिले भ्याएसम्म उनीहरूले सधैं आफ्नो मताधिकार प्रयोग गर्दै आएका छन्। यहाँका मतदाताले आफ्नै ढंगले देश र समाजका लागि निर्णय लिने प्रयास गरेका छन्।
सहरी क्षेत्रजस्तो चेतनाको विकास डोल्पामा अझै पूर्ण रूपमा हुन सकेको छैन। भौगोलिक कठिनाइ, यातायातको अभाव, शिक्षा र सूचना प्रवाहमा कमी जस्ता कारणले यहाँका धेरै ठाउँ अझै पछाडि छन्। अहिले मात्र धेरै मानिसहरू सामाजिक सञ्जालसँग जोडिन थालेका छन्। कतिपय बस्तीहरूमा त अझै मोबाइल टावरसमेत पुगेको छैन। यस्तो अवस्थामा जनताको सोच, चेतना र मानसिकतामा परिवर्तन आउन समय लाग्नु स्वाभाविक कुरा हो।
तर यसको अर्थ डोल्पाली जनतालाई कमजोर ठान्नु वा अपमान गर्नु कदापि उचित होइन। परिवर्तनको प्रक्रिया सुरु भइसकेको छ। आजको डोल्पा हिजोको भन्दा धेरै फरक भइसकेको छ। शिक्षामा पहुँच बढ्दैछ, युवाहरू नयाँ अवसर खोज्दै बाहिर निस्किरहेका छन्, र सूचना–प्रविधिको पहुँच पनि क्रमशः विस्तार हुँदैछ। यी सबै परिवर्तनले भोलिको डोल्पालाई अझ जागरूक र सक्षम बनाउने निश्चित छ।
आफ्नो पार्टीलाई मत हाल्ने नागरिकलाई मात्र सचेत र बुद्धिमान ठान्ने, तर फरक विचार राख्ने वा अर्को पार्टीलाई मत दिने नागरिकलाई “भेडा” भन्ने प्रवृत्ति अत्यन्त संकीर्ण र अस्वस्थ सोच हो। लोकतन्त्रमा फरक मत हुनु स्वाभाविक कुरा हो। त्यसलाई सम्मान गर्न सिक्नुपर्छ।
त्यसैले सामाजिक सञ्जालमा “डोल्पाली भेडा” भनेर आफ्नै समाज र समुदायको अपमान गर्ने काम बन्द गरौँ। यस्तो शब्दले कसैको चेतना बढाउँदैन, बरु समाजमा अनावश्यक विभाजन मात्र पैदा गर्छ।
हामी फराकिलो सोच राखौँ।
हामी सबैको साझा पहिचान डोल्पा हो, र हामी सबै डोल्पाली हौँ।
डोल्पाली भेडा होइनन्।
उनीहरू विकासबाट लामो समय वञ्चित गरिएका नागरिक हुन्।
अवसरबाट टाढा राखिएका नागरिक हुन्।
कहिलेकाहीँ झूटा सपना र आश्वासनमा अल्झाइएका नागरिक हुन्।
तर इतिहासले देखाएको छ— जब अवसर र चेतना बढ्छ, परिवर्तन पनि अवश्य आउँछ।
त्यसैले याद राखौँ,
एक दिन डोल्पाली जनताले परिवर्तनको बिगुल फुक्नेछन्।
त्यो दिन धेरै टाढा छैन।
ढुक्क रहनुहोस्।
लेखक:पोखरामा गण्डकी विश्वविद्यालय कानुन संकायमा सातौ सेमेस्टर अध्यायनरत छन ।

डोल्पा न्यूज । २५ फाल्गुन २०८२, सोमबार ०८:४२