ताजा समाचार

डाेल्पाकाे त्रिपुरासुन्दरीमा महायज्ञको तयारी तीव्र, १२ उपसमिति गठन

विष्णुप्रसाद देवकोटा
डोल्पा । डोल्पाको प्रमुख धार्मिक तथा पर्यटकीयस्थल बाला त्रिपुरासुन्दरी भगवती मन्दिरमा आयोजना हुन लागेको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञलाई भव्य र व्यवस्थित बनाउन १२ वटा विषयगत उपसमिति गठन गरिएको छ।
त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटस्थित मन्दिर परिसरमा भाद्र १५ देखि २२ गतेसम्म सञ्चालन हुने महायज्ञको तयारीस्वरूप महायज्ञ सञ्चालक समितिका संयोजक लक्ष्मीकान्त उपाध्यायको अध्यक्षतामा आइतबार बसेको बैठकले उपसमितिहरू गठन गरेको हो। महायज्ञको व्यवस्थापनका लागि छुट्टै सचिवालयसमेत स्थापना गरिएको छ।
महायज्ञलाई धार्मिक अनुष्ठानमा मात्र सीमित नराखी मन्दिरको भौतिक पूर्वाधार विकास, सर्वाङ्गीण विकास तथा धार्मिक पर्यटन प्रवर्द्धनको अभियानका रूपमा अघि बढाउने आयोजकको तयारी छ।
महायज्ञको आर्थिक व्यवस्थापन, प्रचार–प्रसार, स्वयंसेवा, सांस्कृतिक कार्यक्रम, अनुगमन, अतिथि सत्कार, पूजाआजा, स्वास्थ्य, शान्ति कलश, दुना–टपरी तथा फूलमाला, खानेपानी–सरसफाइ र बाजागाजासम्मका कामलाई व्यवस्थित गर्न छुट्टाछुट्टै जिम्मेवारीसहित उपसमिति बनाइएको मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष विष्णुप्रसाद न्यौपानेले जानकारी दिए।
आर्थिक व्यवस्थापन उपसमितिको संयोजकमा टीकादत्त न्यौपाने, प्रचार–प्रसारमा वरिष्ठ पत्रकार विष्णुप्रसाद देवकोटा,सदस्यहरूमा जयकृष्ण हमाल, टेकबहादुर शाही, सरोज थापा, पूर्ण सार्की, रामचन्द्र न्यौपाने र पूर्णप्रसाद हमाल रहेका छन्।

सांस्कृतिक तथा नाचगानमा रविप्रसाद न्यौपाने र अनुगमन तथा मूल्यांकनमा तुलबहादुर बिष्टलाई जिम्मेवारी दिइएको  अक्ष्य काेष समितिका काेषाध्यक्ष तथा उपसमिति संयाेजक टिकादत्त न्याैपानेले जानकारी दिए ।

न्याैपानेका अनुसार अतिथि सत्कार तथा भण्डारणमा गीता खत्री, पूजाआजा तथा स्टल व्यवस्थापनमा मोतीप्रसाद उपाध्याय, स्वास्थ्य व्यवस्थापनमा तुलबहादुर नेवार, शान्ति कलश व्यवस्थापन तथा वितरणमा मोतीप्रसाद उपाध्याय, दुना–टपरी तथा फूलमाला व्यवस्थापनमा गोमादेवी उपाध्याय, खानेपानी तथा सरसफाइमा भक्तसिंह कठायत र बाजागाजा व्यवस्थापनमा रनवीर नेपाली संयोजक रहेका छन्।
आयोजकका अनुसार उपसमितिहरूले महायज्ञ सुरु हुनुअघिको तयारीदेखि महायज्ञ सम्पन्न नभएसम्म आ–आफ्नो जिम्मेवारीअनुसार व्यवस्थापन सम्हाल्नेछन्।
महायज्ञमा नेपालका ख्यातिप्राप्त युवा पण्डित ईश्वर रेग्मीबाट श्रीमद् भागवत कथा प्रवचन हुने आयोजकले जनाएको छ। राष्ट्रिय कलाकारहरूको सहभागितामा भजन–कीर्तन, झाँकी तथा नृत्यसमेत प्रस्तुत गरिनेछ। विश्वशान्तिको कामनासहित धनधान्याचल, पितृमोक्ष तथा शालग्राम पूजार्चनालगायत धार्मिक अनुष्ठान गरिने तयारी छ।
महायज्ञको पहिलो दिन भाद्र १५ गते बिहान ११ बजे शान्ति कलश यात्रा निकालिनेछ भने दिउँसो उद्घाटन कार्यक्रम हुनेछ। भाद्र १६ देखि २१ गतेसम्म बिहान ६ः३० देखि ८ः३० बजेसम्म नित्य पूजापाठ, ८ः३० देखि ११ः३० बजेसम्म श्रीमद् भागवत पाठ पारायण तथा शालिग्राम पूजन गरिनेछ।
दिउँसो १२ बजेदेखि ४ बजेसम्म संगीतमय कथा प्रवचन, भजन–कीर्तन, झाँकी, नृत्य तथा प्रसादी वितरण हुनेछ। साँझ ७ बजेदेखि राति १० बजेसम्म रात्रीकालीन कथा प्रवचनसँगै भजन–कीर्तन, झाँकी तथा नृत्य प्रस्तुत गरिने आयोजकले जनाएको छ। भाद्र २२ गते पूर्णाहुति तथा यज्ञ विसर्जन गरिनेछ।
महायज्ञमा तुलादान, भूमिदान, पितृका नाममा दान, व्रतबन्ध, चौरासी पूजा, ब्राह्मण भोजन, प्रसादी वितरण, विवाह, ग्रहशान्ति, सत्यनारायण पूजा तथा लक्ष्यवर्ती पूजालगायत धार्मिक सेवा उपलब्ध गराइनेछ।
दानदातालाई विशेष सम्मान
महायज्ञमा सहयोग गर्ने दानदाताका लागि सहयोग रकमअनुसार रसिद, प्रमाणपत्र, फ्रेम तथा शिलालेखमा नाम समावेश गर्नेसहित विशेष सम्मानको व्यवस्था गरिएको छ।
रु. २० हजारभन्दा बढी सहयोग गर्ने दानदातालाई विशेष सम्मानसहित पञ्चेबाजाका साथ यज्ञमण्डप परिक्रमा, रु. ५० हजारभन्दा बढी सहयोग गर्ने दानदातामध्येबाट सो दिनको सभानायक घोषणा गरी स्थानीय बजार परिक्रमा गराउने व्यवस्था गरिएको आयोजकले जनाएको छ।
त्यस्तै, रु. १ लाख वा सोभन्दा बढी सहयोग गर्ने दानदाताको परिवारको नाम शिलालेखमा राखिने व्यवस्था गरिएको छ।
आयोजकले श्रद्धालु भक्तजन, दानदाता, संघसंस्था तथा सर्वसाधारणलाई महायज्ञमा सहभागी भई धार्मिक पुण्य आर्जन गर्नुका साथै बाला त्रिपुरासुन्दरी भगवती मन्दिरको पूर्वाधार विकास र धार्मिक पर्यटन प्रवर्द्धन अभियानमा योगदान गर्न आह्वान गरेको छ।

तपाईको प्रतिक्रिया