विष्णुप्रसाद देवकोटा
डोल्पाका युवाहरूले अब दोहोरिँदो नेतृत्व स्वीकार्य नभएको स्पष्ट जनाउँदै जनताको साझा एजेण्डामा केन्द्रित नयाँ नेतृत्व चयन गर्नुपर्नेमा जोड दिएका छन्।
“हामीले पटक–पटक विजयी गराइएका प्रतिनिधिहरूबाट अपेक्षित विकास देख्न सकेका छैनौं, अब पुरानो नारा होइन, परिणाम चाहिन्छ,” त्रिपुरासुन्दरी नगरपालिका–१, त्रिपुराकोट, रल्ली, गल्ली, करेलीकांडा र बगर बजार क्षेत्रका युवाहरूले बताए।
चुनावमा असल नेतृत्व छनोट गर्ने सजग नागरिकको भूमिका र जिल्लाको समग्र दीगो विकास” विषयक बृहत् अन्तरक्रिया कार्यक्रमका सहभागी युवाहरुले उक्त कुरा बताएका हुन 
त्रिपुरासुन्दरी युवाक्लब र परिवर्तन डोल्पाको आयोजनामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा सहभागी युवाहरूले मत माग्न आउने हरेक उम्मेदवारसँग प्रत्यक्ष प्रश्न सोधेर वास्तविक एजेण्डा बुझ्नुपर्नेमा जोड दिए। उनीहरूले अब कुनै दलको उम्मेदवार मात्र नभई जनताको हितमा काम गर्ने नेतृत्व आवश्यक रहेको धारणा राखे।
कार्यक्रममा उठाइएका मुख्य मागहरूमा उद्योग–कलकारखाना स्थापना, क्याम्पस विस्तार, गुणस्तरीय स्वास्थ्य सेवा, रोजगारी सिर्जना र आधारभूत पूर्वाधार विकास समावेश थिए। सहभागी युवाहरूले लामो समय नेतृत्वमा रहेर पूरा गर्न नसकेका कामलाई फेरि पुरा गर्ने आश्वासन दिने पुरानै नारा असन्तुष्टि उत्पन्न गर्ने कुरा बताए।
उक्त अन्तरक्रियामा समग्र डोल्पाका युवाहरूको सक्रिय सहभागिता रहेको थियो। त्रिपुराकोट, रल्ली, गल्ली, करेलीकांडा र बगर बजार क्षेत्रका जेन–जि पुस्ताका युवाहरूले आफ्नो आवाज कार्यक्रम मार्फत उठाए। उनीहरूले मतदाता जागरुकता र साझा एजेण्डामा केन्द्रित उम्मेदवारको चयनको आवश्यकता औँल्याउँदै, राजनीतिक दलमा सीमित नहुने, बरु साझा विकासका मुद्दामा आधारित सहकार्य गर्ने कुरामा एक्यवद्धता जनाए।
आयोजक संस्थाका प्रतिनिधिहरूले पनि युवाहरूको सक्रिय सहभागितालाई स्वागत गर्दै त्यसको महत्व औँल्याए। त्रिपुरासुन्दरी युवक्लबका अध्यक्ष पुर्ण हमालले भने, “युवाहरूले उठाएको आवाजले अब डोल्पामा नेतृत्वको छनोटमा स्पष्ट र पारदर्शी मार्ग निर्देशन दिन्छ।डाेल्पाका युवाले विशेष गरि दुईवटा विकास मानव र भाैतिक विकास चाहेकाे उल्लेख गर्दै सबैभन्दा पहिला डाेल्पालीलाई भेडा भन्ने भाष्यकाे अन्त्य गरिने बताए ।परिवर्तन डोल्पाका संयोजक रुपक कुलालले भने, “यो अन्तरक्रियाले युवाहरू मात्र नभई समग्र मतदातालाई सचेत बनाउँदै, जनतामा आधारित विकासका लागि सक्षम नेतृत्व चयनमा प्रेरित गर्नेछ।”
कार्यक्रमले युवाहरूलाई आफ्नो अधिकार र जिम्मेवारीबारे सचेत बनाउँदै आगामी चुनावमा सक्रिय सहभागी बनाउने वातावरण सिर्जना गरेको छ। सहभागी युवाहरूले मत माग्न आउने उम्मेदवारलाई प्रश्न सोध्ने, उनीहरूको वास्तविक एजेण्डा बुझ्ने र त्यसको आधारमा समर्थन गर्ने रणनीति अघि सारेका छन्।
आयोजकले भविष्यमा पनि यस्ता अन्तरक्रियामार्फत युवा सहभागिता बढाउँदै, स्थानीय विकासका वास्तविक मुद्दाहरूमा जनतालाई सक्रिय बनाउने योजना रहेको जानकारी दिएका छन्। यस कार्यक्रमले डोल्पामा नेतृत्वको छनोटमा नयाँ सोच र परिवर्तनको आवश्यकता रहेको स्पष्ट रूपमा देखाएको छ।

डोल्पा न्यूज । ९ फाल्गुन २०८२, शनिबार १९:४८