सरोज थापा
साउन १३, डोल्पा ।परम्परागत शिक्षण पद्धतिलाई प्रविधिसँग जोड्दै डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाले विद्यालयहरूमा सूचना तथा सञ्चार प्रविधि (ICT) को पहुँच विस्तार गर्न थालेको छ।
नगरपालिकाले आफ्नो क्षेत्रभित्रका आधारभूत तथा माध्यमिक तहका विभिन्न विद्यालयलाई कम्प्युटर, ल्यापटप, प्रिन्टर, प्रोजेक्टर, पेनड्राइभ, फोटोकपी पेपरलगायतका ICT सामग्री वितरण गरेको हो।
नगरपालिकाको आयोजनामा साउन १२ गते सम्पन्न कार्यक्रममा नगरप्रमुख जनचन्द्र रोकाया प्रमुख प्रशासकीय अधिकृत राजु कुवार शिक्षा शाखा प्रमुख भीम थापा लगायत जनप्रतिनिधि तथा सम्बन्धित सरोकारवालाको उपस्थितिमा विद्यालयका प्रतिनिधिलाई सामग्री हस्तान्तरण गरिएको थियो।
शिक्षण सिकाइ प्रक्रियालाई प्रविधिमैत्री बनाउँदै विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले नगरपालिका क्षेत्रका १८ वटा आधारभूत तहका विद्यालयहरुमा आईसिटि सामग्री वितरण गरिएको नगरपालिकाले जनाएको छ। प्रविधिको पहुँच बढेसँगै शिक्षकलाई शिक्षण सामग्री प्रयोगमा सहजता हुनुका साथै विद्यार्थीलाई पनि नयाँ र सिर्जनात्मक सिकाइ वातावरण निर्माण हुने अपेक्षा गरिएको छ।

नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा कार्यरत शैक्षणिक स्रोत व्यक्ति नवीनकुमार शाहीका अनुसार विद्यालयलाई उपलब्ध गराइएका सामग्रीको प्रभावकारी प्रयोगसँगै संरक्षणमा पनि विशेष ध्यान दिन आग्रह गरिएको छ।
ICT सामग्रीलाई विद्यालयमा थन्क्याएर राख्नेभन्दा नियमित शिक्षण सिकाइमा अधिकतम प्रयोग गर्न सके त्यसले विद्यार्थीको सिकाइ उपलब्धि र शैक्षिक वातावरण सुधारमा महत्वपूर्ण योगदान पुग्ने शाहीले बताए।
त्रिपुरासुन्दरी नगरपालिकाको पछिल्लो पहलले दुर्गम क्षेत्रका विद्यालयमा समेत प्रविधिमा आधारित शिक्षणको आधार तयार हुने अपेक्षा गरिएको छ।

डोल्पा न्यूज । १३ श्रावण २०८३, बुधबार १५:०५