ताजा समाचार

त्रिपुरासुन्दरी  न्यायिक समितिकाे न्याय सम्पादनमा सक्रियता ४९ मध्ये ३३ मुद्दा मिलापत्र

विष्णुप्रसाद देवकोटा

डाेल्पा । त्रिपुरासुन्दरी नगरपालिका न्यायिक समिति ले पछिल्ला चार आर्थिक वर्षमा न्याय सम्पादनलाई प्रभावकारी र छिटोछरितो बनाउँदै उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ। समितिका अनुसार आर्थिक वर्ष २०७९/०८० देखि हालसम्म कुल ४९ वटा मुद्दा दर्ता भएका छन्, जसमा ३३ वटा मिलापत्रमार्फत समाधान गरिएका छन् भने १० वटा आपसी मेलमिलापबाट टुंग्याइएको र ६ वटा प्रक्रियामै रहेका छन्।
आर्थिक वर्ष २०७९/०८० मा लेनदेनका ५ र झैझगडाका १ गरी ६ वटा मुद्दा दर्ता भई सबै मिलापत्र भएका थिए। २०८०/०८१ मा भने मुद्दाको संख्या बढेर २३ पुगेको थियो, जसमा लेनदेन २०, पशुचौपाया सम्बन्धी २ र बेवारिस घोडा १ रहेका थिए। तीमध्ये अधिकांश छलफलमार्फत मिलापत्रमा टुंगिएका छन्।
त्यसैगरी २०८१/०८२ मा १५ वटा लेनदेनका मुद्दा दर्ता भएका थिए, जसमध्ये १२ मिलापत्र भइसकेका छन् भने ३ प्रक्रियामा छन्। चालु आर्थिक वर्ष ०८२/०८३ मा हालसम्म ५ वटा मुद्दा दर्ता भएका छन्, जसमा ३ मिलापत्र भइसकेका र २ प्रक्रियामा रहेका छन्।
समितिले न्याय सम्पादनलाई अझ प्रभावकारी बनाउन नगरका सबै ११ वडामा मेलमिलापकर्ता छनोट गरी क्षमता अभिवृद्धि तथा कानुनी सचेतनामूलक तालिम सञ्चालन गरेको छ। यसले स्थानीय तहमै विवाद समाधानको संस्कृतिलाई मजबुत बनाएको समितिको दाबी छ।
साथै, बालविवाह न्यूनीकरणका लागि स्याक नेपाल सँग सहकार्य गर्दै विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेका छन्। जनसंख्याको आधारमा बजेट तथा कार्यक्रम विनियोजन गर्ने अभ्यासले सेवाप्रवाहमा सन्तुलन ल्याएको पनि जनाइएको छ।
न्यायिक समितिले असहाय, गरिब तथा विपन्न नागरिकलाई आर्थिक सहयोग प्रदान गर्ने नीति अनुरूप १० हजार रुपैयाँसम्म सहयोग गर्ने व्यवस्था गरेको छ। चालु आर्थिक वर्षमा एक जनाले निवेदन दिएको भए पनि आवश्यक कागजात अपुग हुँदा सहयोग प्रक्रिया अघि बढिरहेको बताइएको छ।
उपमेयर तथा न्यायिक समिति संयोजक देवी घर्तीले न्यायिक सेवामा पारदर्शिता, पहुँच र छिटो निर्णयलाई प्राथमिकतामा राखेर काम भइरहेको बताइन्। उनका अनुसार स्थानीय तहमै विवाद समाधान गर्ने अभ्यासले अदालतसम्म पुग्ने मुद्दाको चाप घटाउने र सामाजिक सद्भाव कायम राख्ने काममा टेवा पुगेको छ।न्यायिक समित सदस्य रणबहादुर बुढाले चार आर्थिक वर्षमा न्यायिक समतिले न्याय सम्पादनमा गरिएका कामकाे विवरणमाथि प्रकाश पारेका थिए ।

तपाईको प्रतिक्रिया