विष्णुप्रसाद देवकोटा
डोल्पा । पछिल्ला केही दिनयता जिल्लामा देखिएका विभिन्न घटनाक्रमले शान्ति सुरक्षाको अवस्थामाथि नागरिक तहमा गम्भीर चासो उत्पन्न गरेको भन्दै नागरिक समाज डोल्पाले नागरिक र राज्यका निकायबीचको समन्वय तथा विश्वासलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएको छ।
नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढाको आह्वानमा बिहीबार सदरमुकाम दुनैमा भएको नागरिक समाज, राजनीतिक दल, व्यवसायी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूबीचको छलफलले जिल्लामा सुरक्षा निकायविरुद्ध कुनै धारणा नरहेको स्पष्ट पार्दै नागरिकले राज्यको उपस्थिति र सुरक्षा व्यवहारमै अनुभूत गर्न सक्ने वातावरण निर्माण गर्नुपर्ने निष्कर्ष निकालेको हो।
छलफलमा सहभागीहरूले सुरक्षा निकाय र नागरिकबीचको समन्वय तथा संवाद अपेक्षाअनुसार प्रभावकारी हुन नसकेको गुनासो गरेका थिए। ‘प्रहरी मेरो साथी’ तथा ‘समुदाय–प्रहरी साझेदारी’जस्ता जनमुखी अवधारणाको भावना व्यवहारमा अझ प्रभावकारी रूपमा कार्यान्वयन हुन सके नागरिक र सुरक्षा निकायबीचको विश्वास थप बलियो बन्ने उनीहरूको धारणा थियो।
अध्यक्ष बुढाले नागरिक समाजको चासो सुरक्षा निकायको भूमिकामाथि प्रश्न उठाउने नभई नागरिक, प्रशासन र सुरक्षा निकायबीचको समन्वयात्मक भूमिकालाई अझ प्रभावकारी बनाउने विषयमा केन्द्रित रहेको स्पष्ट पारे।
“यो सुरक्षाको विरुद्धमा उठाइएको आवाज होइन। नागरिक र सुरक्षा निकायबीचको समन्वय, संवाद र विश्वासलाई अझ बलियो बनाउनुपर्छ भन्ने हाम्रो धारणा हो। नागरिकले राज्यको उपस्थिति र सुरक्षा अनुभूति व्यवहारमै गर्न पाउनुपर्छ।”
छलफलमा जिल्लाको पछिल्लो सुरक्षा अवस्थाप्रति राजनीतिक दलका प्रतिनिधिहरूले समेत चासो व्यक्त गर्दै नागरिकमा विश्वास जगाउने गरी सुरक्षा निकायको भूमिका अझ प्रभावकारी हुनुपर्ने बताएका थिए। नागरिक र सुरक्षा निकायबीचको सम्बन्ध सुमधुर, पारदर्शी र विश्वासमा आधारित हुन नसके त्यसको असर शान्ति सुरक्षा मात्र नभई सामाजिक सद्भावमा समेत पर्न सक्ने उनीहरूको भनाइ थियो।
पछिल्ला घटनाक्रमले जिल्लाको व्यवसायिक वातावरणमा समेत असर पर्न थालेको भन्दै उद्योगी तथा व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन्। डोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष लालिमान बुढाले असुरक्षाको अनुभूति बढ्दै जाँदा लगानीको वातावरण कमजोर हुने र जिल्लाको समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्न सक्ने बताए।
“राज्यका निकायले काम गर्दा जिल्लाको वास्तविक अवस्था, भौगोलिकता, सामाजिक–सांस्कृतिक परिवेश र स्थानीय परिस्थितिलाई समेत बुझ्न आवश्यक छ। नागरिकले राज्य भएको अनुभूति गर्ने वातावरण निर्माण हुनुपर्छ।”
नागरिक अगुवाहरूले शान्ति सुरक्षा कायम गर्नु राज्यको प्राथमिक दायित्व भए पनि त्यससँगै नागरिकले ढुक्क भएर हिँडडुल गर्न, व्यवसाय सञ्चालन गर्न र आफ्नो पेशागत जिम्मेवारी निर्वाह गर्न सक्ने वातावरण निर्माण गर्नु पनि उत्तिकै आवश्यक रहेको बताएका छन्।
उनीहरूले सुरक्षा निकाय र नागरिकबीच नियमित संवाद, पारदर्शी समन्वय तथा समुदायसँगको प्रत्यक्ष सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। नागरिकमा त्रास सिर्जना हुने अवस्था होइन, विश्वास र सुरक्षाको अनुभूति बढ्ने वातावरण निर्माण गर्न राज्यका सबै निकायले संवेदनशीलतापूर्वक भूमिका निर्वाह गर्नुपर्ने उनीहरूको भनाइ छ।
यसै विषयमा नागरिक समाज डोल्पाले जिल्लाको समग्र शान्ति सुरक्षा, नागरिकको सुरक्षाको अधिकार, पछिल्ला घटनाक्रम तथा सुरक्षा निकायको भूमिकाबारे प्रमुख जिल्ला अधिकारीसँग विस्तृत छलफल गर्ने तयारी गरेको अध्यक्ष शेरबहादुर बुढाले बताए।
नागरिक समाजले नागरिक, प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल, निजी क्षेत्र तथा अन्य सरोकारवालाबीच प्रभावकारी समन्वय, नियमित संवाद र पारस्परिक विश्वासको वातावरण निर्माण गर्न सके मात्र डोल्पामा दिगो शान्ति, सुरक्षित व्यवसायिक वातावरण र नागरिकमा वास्तविक सुरक्षा अनुभूति स्थापित गर्न सकिने जनाएको छ।
नागरिकले सुरक्षा अनुभूति गर्ने वातावरण बनाउन नागरिक समाज डाेल्पाकाे आग्रह
तपाईको प्रतिक्रिया

डोल्पा न्यूज । ७ श्रावण २०८३, बिहीबार १८:२३