ताजा समाचार

चितवनबाट डोल्पासम्म बुलेट राइड:आन्तरिक पर्यटन प्रवर्द्धनमा २४ युवाको अभियान

विष्णुप्रसाद देवकोटा

आन्तरिक पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यसहित मोहन केसी नेतृत्वको टोली डोल्पा पुगेको छ। “पहिला आफ्नै सुन्दर देश, अनि बल्ल विदेश” भन्ने नारासहित २४ जनाको हिमालयन राइडर्स बाईक टोली चितवनबाट यात्रा सुरु गरेको हो।

टोलीले चितवन जिल्लाबाट यात्रा सुरु गरी पूर्वी रुकुम हुँदै जाजरकोट जिल्ला पार गर्दै हिमाली जिल्ला डोल्पा  पुगेको हो। २४ जना राेयल इन्फिल्ड बुलेट बाइक राइडर्सको टोलीले दुर्गम भूगोल पार गर्दै डोल्पाको प्राकृतिक सुन्दरता अवलोकन गरेको छ।

डोल्पा पुगेपछि टोलीले त्रिपुराकोटस्थित प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा पूजा–आराधना तथा दर्शन गरेको छ। मन्दिरकाे ऐतिहासिक महत्त्व र यसकाे स्थापना लगायतकाे जानकारी भ्रमण अभियान टाेलिले लगेकाे थियाे ।साथै टोली जुफाल विमानस्थल र सदरमुकाम दुनैसम्म पुगेर त्यहाँको जीवनशैली र पर्यटकीय सम्भावनाबारे अवलोकन समेत गरेको  छ।

टोलीमा चर्चित युट्युबर सिर्जना सिज्जु र दीपचन्दसहितको टिम सहभागी रहेको हिमालयन राईडर्स टाेलिले जानकारी दिएकाे छ। उनीहरूले यात्राका अनुभवलाई डिजिटल माध्यमबाट प्रसारण गर्दै डोल्पाको पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने बताएका छन।

लामो दुरीको यो बाईक यात्रा केवल साहसिक भ्रमण मात्र नभई देशभित्रकै पर्यटकीय गन्तव्यको प्रचार–प्रसार गर्ने अभियान भएको अध्यक्ष अटाे माेवाइल ब्यवसायी संघका अध्यक्ष माेहन केसीले बताए। उनका अनुसार नेपालका सुन्दर र सम्भावनायुक्त क्षेत्रको पहिचान र प्रचारमा यस्ता अभियानले महत्वपूर्ण भूमिका खेल्नेछ।

डोल्पाको अनुपम प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र सांस्कृतिक विविधता अवलोकन गर्दै टोली आज  नै चितवन फर्कने छ। यस्तो प्रकारको अभियानले आन्तरिक पर्यटनलाई टेवा पुर्‍याउँदै दुर्गम क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया