ताजा समाचार
२०८२ फागुन-२१ डाेल्पाकाे चुनावी समिक्षा

डोल्पाको चुनावले खोलेको राजनीतिक यथार्थ

२०८४ सालमा हुने आम निर्वाचन असाधारण राजनीतिक परिस्थितिमा सम्पन्न भयो। २३/२४–२०८२ मा उठेको जेन–जेड आन्दोलनले देशको राजनीतिक वातावरणलाई नयाँ बहसतर्फ धकेलेको पृष्ठभूमिमा २०८२ फागुन २१ गते सम्पन्न निर्वाचनले हिमाली जिल्ला डोल्पामा फेरि एउटा पुरानो तर गहिरो यथार्थ उजागर गरिदियो।यहाँ राजनीति केवल विचारको प्रतिस्पर्धा होइन, भूगोल, सम्बन्ध र विश्वासको जटिल मिश्रण पनि हो।

नेपालको सबैभन्दा विकट भौगोलिक जिल्लामध्ये एक हो डाेल्पा। हिमालले घेरिएको, सडक सञ्जाल सीमित, शिक्षा र सञ्चारको पहुँच कमजोर, र कतिपय स्थानमा राज्यको स्थायी उपस्थितिसमेत कमजोर रहेको यो भूभागमा राजनीति पनि कहिलेकाहीँ आफ्नै विशेष लयमा चल्ने गर्छ। विशेषगरी माथिल्लो डोल्पाका कतिपय बस्तीमा सरकारी सेवा र संरचनाको उपस्थितिले अझै स्थायित्व पाउन सकेको छैन। यस्तो अवस्थामा राजनीतिक चेतनाको विकास पनि असमान र असन्तुलित देखिन्छ।

निर्वाचनअघि सामाजिक सञ्जालमा परिवर्तनको पक्षमा निकै ठूलो बहस थियो। नेतृत्व परिवर्तन, विकासको नयाँ मोडेल र नयाँ पुस्ताको नेतृत्वको पक्षमा आवाजहरू चर्किएका थिए। नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा, रास्वपा र स्वतन्त्र उम्मेदवारहरू सबैले परिवर्तनको प्रतिबद्धता बोकेर चुनावी मैदानमा उत्रिएका थिए।

तर परिणामले फेरि देखायो सामाजिक सञ्जालको हल्ला र गाउँको मतबीच अझै दूरी छ।

नेपाली उखान जस्तै“हल्लाले हिमाल ढल्दैन, तर विश्वासले मतपेटिका भरिन्छ।”

प्रतिस्पर्धा कडा भए पनि अन्ततः पुरानै नेतृत्वले फेरि विजयको झण्डा गाड्न सफल भयो। शान्त, संयमित र रणनीतिक शैलीमा अघि बढेका नेकपा उम्मेदवारले चौथोपटक संसदीय जित सुरक्षित गरे। उनको व्यक्तिगत प्रभाव, सहकार्य गर्ने स्वभाव, स्थानीय सम्बन्ध र तत्कालीन माओवादी पृष्ठभूमिका कार्यकर्ताको रणनीतिक सक्रियताले उनलाई कठिन प्रतिस्पर्धाबीच पनि सफलताको ढोका खोलिदियो।

यस चुनावले डोल्पाको राजनीतिक संरचनाबारे अर्को महत्वपूर्ण यथार्थ पनि उजागर गरेको छ ।भूगोल र विचारको विभाजन।काइकेदेखि डोल्पोबुद्ध, शे–फोक्सुण्डो र छार्काताङसोङसम्मका मतदातामा आफ्नो भेग र क्षेत्रका उम्मेदवारलाई मत दिन एक प्रकारको एकता देखिन्छ। त्यहाँ विचार, पार्टी संगठन वा राजनीतिक सिद्धान्तभन्दा पनि भूगोल र क्षेत्रीय पहिचानको भावना बलियो देखिन्छ।

तर यसको ठीक विपरीत दृश्य ठूलीभेरीदेखि जगदुल्लासम्म देखिन्छ। यहाँका मतदातामा विचार, सिद्धान्त, पार्टी संगठन र उम्मेदवारका आधारमा मत विभाजन हुने गरेको छ।

अर्थात्, उपल्लो डोल्पामा “भूगोलले मत जोड्छ” भने मध्य र तल्लो डोल्पामा “विचारले मत छुट्याउँछ।”

यही संरचनाले दीर्घकालीन राजनीतिक असन्तुलन पनि सिर्जना गरेको देखिन्छ। ठूलीभेरीदेखि जगदुल्लासम्मका मतदाताले उपल्लो डोल्पाका उम्मेदवारलाई पार्टी र विचारका आधारमा मत दिने गरेका छन्, जसका कारण उनीहरूको मत विभाजित हुन्छ।

तर उपल्लो भोट क्षेत्रका मतदाता भने आफ्नै भेग वा वर्गका उम्मेदवारका पक्षमा प्रायः विचलित हुँदैनन्। त्यहाँ मत “एक ढिक्का” हुने प्रवृत्ति बलियो छ।

यसरी एकातिर मत एकीकृत र अर्कोतिर मत विभाजित हुने अवस्थाले मध्य र तल्लो डोल्पाको नेतृत्व धेरैपटक उपेक्षित हुने राजनीतिक यथार्थ निर्माण गरेको विश्लेषण बारम्बार उठ्दै आएको छ।डोल्पाको राजनीति हिमाली नदीजस्तै छ। माथिबाट बग्ने धार एकै दिशामा हुन्छ, तर मैदानमा पुग्दा त्यो धार टुक्रा–टुक्रा भएर फैलिन्छ।”

यसपटकको चुनावी मैदान अर्को कारणले पनि रोचक बन्यो। एउटै घरका दुई दाजुभाइ आमनेसामने चुनावी प्रतिस्पर्धामा उत्रिए। प्रचारप्रसारका क्रममा कांग्रेस उम्मेदवार बनेका दाइले नेकपा उम्मेदवार भाइमाथि भ्रष्टाचारदेखि ‘जिल्ला–द्रोह’ सम्मका आरोप लगाउँदै आफूलाई त्यसको विरोधी पात्रका रूपमा प्रस्तुत गर्ने प्रयास गरेका थिए।

तर राजनीति केवल आरोपको आँधी होइन, विश्वासको परीक्षा पनि हो। काइकेदेखि माथिल्लो भेगसम्मका मतदाताले ती आरोपलाई व्यवहारिक रूपमा आत्मसात नगर्दा परिणाम फेरि पनि नेकपा उम्मेदवारकै पक्षमा गयो।

चुनाव सम्पन्न भएको केही दिनपछि प्रमुख दलहरू अहिले समीक्षा बैठकमा जुटिरहेका हाेलान र छन्। समीक्षा लोकतन्त्रको आवश्यक अभ्यास हो। तर समीक्षा केवल औपचारिकता बनेर बस्यो भने त्यसले घाउ निको पार्दैन।नेतृत्वले कहाँ गल्ती गर्‍यो? कहाँ रणनीति चुक्यो?कसको व्यवहारले मतदाताको विश्वास गुमायो?यी प्रश्नको इमानदार उत्तर खोज्न सकियो भने मात्र भविष्यको राजनीति सुधारतर्फ अघि बढ्न सक्छ।

किनकि डोल्पाको विकट भूगोल, सीमित शिक्षा, चेतनाको कमी र राज्यको कमजोर उपस्थितिको बीचमा यदि राजनीति विकासको मार्गदर्शक बन्न सकेन भने त्यो सजिलै “फोहोर राजनीतिक खेल” मा रूपान्तरित हुन सक्छ।

अन्ततः डोल्पाको यो चुनावले एउटा गहिरो सन्देश दिएको छ“सञ्जालको हल्लाले चुनाव जित्दैन,हिमाली गाउँको विश्वासले नेतृत्व जन्माउँछ।”

तपाईको प्रतिक्रिया